कैलाली । स्मार्ट सिटी निर्माणको योजनामा छाडा पशुचौपाया बाधक बनेपछि धनगढीका स्थानीय यो समस्याबाट आजित छन् । छाडा पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सहर कुरूप बनेको धनगढी-६ मटियारीका लोकराज भट्टले बताए ।
उनले धनगढीको मुख्य समस्या र चुनौती नै छाडा पशुचौपाया भएको बताएका छन् ।
‘सडकभर छाडा पशुचौपाया डुल्न थालेपछी धनगढीमा सवारी दुर्घटनाको जोखिम उच्च छ’, भट्टले भने, ‘छाडा पशुचौपायाकै कारण दुर्घटना हुँदा कैलाली बहुमुखी क्याम्पसमा एक शिक्षकले अकालमै ज्यान गुमाउनुपरेको थियो । यो सारा धनगढीबासीको टाउको दुखाईको विषय भनेको छ ।’
त्यस्तै, भट्टले छाडा पशुचौपायाका कारण धनगढीमा सृजना भएको समस्याप्रति स्थानीय तह गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
यता धनगढी-४ का स्थानीय प्रजापति भट्टले पनि छाडा पशुचौपाया धनगढीको विकासमा बाधक बनेको बताए । खासगरी धनगढीको ६ लेन सडक तथा मुख्य सडक छाडा पशुचौपायाले भरिँदा दुर्घटनाको जोखिम बढेको भट्टको भनाई छ ।
उनले छाडा पशुचौपायाकै कारण व्यक्तिको ज्यान जानु दुःखद भएको बताएका छन् । ‘खासमा यो छाडा पशुचौपायाकै कारण दुर्घटना हुँदा व्यक्तिले ज्यान गुमाएको सुन्दा साह्रै दुःख लाग्छ’, उनले भने, ‘छाडा पशु चौपायाको व्यवस्थापनमा सम्बन्धित निकायले पनि पहल गरेको तर, व्यवस्थापन दिगो नहुँदा समस्या जस्ताको त्यस्तै छ ।’
त्यस्तै, भट्टले केही महिना वा केही वर्षका लागि मात्रै नभएर छाडा पशु चौपायाको व्यवस्थापन दिगो रुपमा गर्नुपर्ने बताएका छन् । अल्पकालीन रुपमा गरिएका पहलले रिजल्ट नदिने भन्दै उनले समस्या दीर्घकालीन समाधान खोज्न पनि सुझाएका छन् ।
भट्टका अनुसार छाडा पशुचौपायाको व्यवस्थापनबाट पनि आम्दानी गर्न सकिन्छ ।
निश्चित क्षेत्र तोकेर चौपायाको रेखदेख तथा पशु चौपायाकै दूध र गोबर सदुपयोग गरेर पनि आम्दानी गर्न सकिने भट्टको भनाई छ । उनले यसतर्फ पनि ध्यान दिन स्थानीय तह एवम् सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
‘सुरुमा छाडा पशुचौपाया खोजेर एक ठाउँमा जम्मा गर्नुपर्छ , अनि दूध दिने र नदिने छुट्याउनुपर्छ’, उनले भने, ‘यसो गर्दा तीनै पशुचौपायाको दूध र मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । जुन आम्दानी पुनः त्यहीँ पशुचौपायाको व्यवस्थापन, कर्मचारीको सेवासुविधामा खर्च गर्न सकिन्छ, यसो गर्न सके मात्रै यो समस्या दिगो रुपमा समाधान हुन्छ ।’




प्रतिक्रिया दिनुहोस्