केन्द्रीय सत्ता समीकरण बचाउन मुख्यमन्त्री बनाइएका सोडारी १०१ दिनमै ‘आउट’ !

काठमाडौं । ३ महिना ११ दिनअघि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् ।

केन्द्रमा संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँग अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार (आज) पदबाट राजीनामा दिँदैछन् ।

Dengue

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनसहित अपराह्न ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । उनले त्यहीँ सम्बोधनपछि राजीनामाको घोषणा गर्नेछन् ।

मुख्यमन्त्री सोडारीको दल नेकपा (एकीकृत समाजवादी) का सांसद नरेश शाहीले भने, “विश्वासको मत लिने प्रयोजनका लागि बस्ने प्रदेश सभा बैठकबाटै उहाँले राजीनामाको घोषणा गर्नुहुन्छ । प्रक्रिया नजाला ।”

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना पुग्दानपुग्दै पदबाट राजीनामा दिनुपर्‍यो ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्दछ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा ठ्याक्कै २७ सांसद मात्रै थिए । उनको आफ्नो दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०/१०, नाउपाका २ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर, एमालेले कांग्रेससँग मिलेर केन्द्रीय सत्ता समीकरण बनाएसँगै मुख्यमन्त्री सोडारीलाई राजीनामा दिनुपर्ने विवशता आइलागेको हो । त्यसो त सुरुमै एमालेले सोडारीलाई मुख्यमन्त्रीका रूपमा स्वीकारेको थिएन ।

निकै दिन अटेर गरेपछि समर्थन जनाएको एमालेले अन्तत: मुख्यमन्त्री पदबाटै हुत्याइदियो । अहिले मुख्यमन्त्री सोडारीको पक्षमा जम्माजम्मी १४ सांसद मात्रै छन् । माओवादीको १० र एकीकृत समाजवादीको ४ गरी उनको साथमा १४ सांसद देखिन्छन् ।

सुरुमा समर्थन जनाएका नाउपाका २ सांसद र स्वतन्त्र सांसद डा. तारा जोशीले समेत नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने जनाइसकेका छन् ।

केन्द्रीय समीकरण बचाउन मुख्यमन्त्री बनाइएका सोडारी

त्यसो त त्यसबेला केन्द्रीय सत्ता समीकरण बचाउनका लागि प्रदेश सभामा ४ सिट भएको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिइएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाए सत्ता समीकरण जतिबेला पनि फुट्न सक्ने धम्की दिएपछि सुदूरपश्चिम प्रदेशमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि प्रचण्ड-ओलीले भने त्यहाँ नाउपालाई मुख्यमन्त्री दिने वचन दिइसकेका थिए । तर, पछि त्यसो भएन । मुख्यमन्त्री एकीकृत समाजवादीले पायो र मुख्यमन्त्री बने— सोडारी ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार