सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप

कैलाली – सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । तेस्रो ठूलो दल नेकपा ९एमाले० को संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उनीहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमणकिशोर चौधरी र टीका थापाको नाम चर्चामा छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपाका एक जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुनलागेको हो ।

Dengue

यसअघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन् । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ । “अधिकां विजयी प्रदेशसभा सदस्य काठमाडौं पुग्नुभएको छ”, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भने ।

यसैबीच प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई यही पुस १५ गते शपथग्रहण गर्ने तयारी भइरहेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य ५२ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने बताइएको छ । अछामबाट कांग्रेसबाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावल प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सचिवालले शपथग्रहण र प्रदेशसभाको बैठक सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा गरिसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

बैठक सञ्चालनका लागि प्रदेशसभा हललाई सजिसजाउ पारिएको छ । यस क्रममा प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल र माइक पुनः जडान गरिएका छन् । “सचिवालयले प्रदेश प्रमुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग समन्वय गरेर शपथ ग्रहण र बैठक सञ्चालनको तयारी गरिरहेको छ”, उनले भने । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना निर्वाचित भएका छन् । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट पुरुष ३५ र महिला १८ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार