काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने पनि स्पष्ट पारे ।
उनले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताए ।
सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरे । अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उनको स्पष्टिकरण थियो ।
प्रतिक्रिया दिनुहोस्