काठमाडौँ : सुदूरपश्चिमको कैलालीस्थित गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारणसम्बन्धी विवाद छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले गेटामा एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने र नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयमाथि पुनरावलोकन गर्न सहमति भएपछि प्राध्यापक डा. गोविन्द केसीले २५ औं सत्याग्रह अन्त्य गरेका छन् ।डा. केसीले ६ बुँदे मागसहित ११ कात्तिकदेखि इलामबाट अनशन थालेका थिए ।
शिक्षा तथा खेलकुदमन्त्री तथा चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष सस्मित पोखरेल र डा. केसीबीच शनिबार बिहान भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको असोज ३० गतेको निर्णय पुनरावलोकन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिनेछ । समितिले गेटामा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति तथा सिट निर्धारण र आर्मी मेडिकल कलेजमा थप गरिएको सिटको निर्णय चिकित्सा शिक्षा मापदण्डअनुसार भए/नभएको अध्ययन गर्नेछ ।
समितिले सरकारलाई प्रतिवेदन बुझाउने र सरकारले त्यसका सिफारिस कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ गर्ने सहमति भएको छ । कार्यक्रम सञ्चालनको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्ड पूरा नभएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारीलगायतलाई कारबाहीको दायरामा ल्याइने पनि सहमतिमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्