औँला पड्काउने र तान्ने बानी छ ? निम्त्याउन सक्छ यस्ता समस्या

काठमाडौं । धेरै मानिस बसिरहेको बेला अनायासै हातका औँला पड्काउँछन् । औँला मोड्दा वा तन्काउँदा आउने ‘चट्’ आवाजले कतिपयलाई आराम वा सन्तुष्टिको अनुभूति पनि हुन्छ । तर, औँला पड्काउने बानीबारे समाजमा लामो समयदेखि एउटा धारणा प्रचलित छ, “धेरै औँला चट्काए बाथ हुन्छ ।”

तर, वैज्ञानिक अध्ययनहरूले यो धारणालाई समर्थन गर्दैनन् । सामान्य अवस्थामा औँला पड्काउँदैमा बाथ वा अस्टियोआर्थराइटिस हुने जोखिम बढ्छ भन्ने प्रमाण भेटिएको छैन । बरु, औँला पड्काउनु अधिकांश मानिसका लागि सामान्य शारीरिक प्रक्रिया र हानिकारक नहुने बानीका रूपमा लिइन्छ ।

औँला पड्काउने बानी र बाथबीच सम्बन्ध छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्न अमेरिकी चिकित्सक डोनाल्ड उंगरले आफ्नै शरीरमा लामो समयसम्म एउटा अनौठो प्रयोग गरेका थिए ।

बाल्यकालदेखि नै उनकी आमा, काकीहरू र पछि सासूले समेत औँला पड्काउँदा बाथ हुन सक्ने चेतावनी दिएका थिए । यो धारणा गलत साबित गर्ने उद्देश्यले उंगरले करिब ५० वर्षसम्म आफ्नो देब्रे हातका औँला दिनमा कम्तीमा दुईपटक पड्काइरहे । अनुमानअनुसार उनले जीवनभर करिब ३६ हजार पटक देब्रे हातका औँला पड्काए, तर दाहिने हातका औँला भने पड्काएनन् । 

सन् १९९८ मा ७२ वर्षको उमेरमा उनले दुवै हातको एक्स–रे गराए । परिणाममा न त कुनै हातमा बाथ देखियो, न त दुवै हातबीच उल्लेखनीय अन्तर नै भेटियो ।

यद्यपि, यो एउटा व्यक्तिमा गरिएको व्यक्तिगत प्रयोग भएकाले यसलाई मात्रै वैज्ञानिक प्रमाण मान्न सकिँदैन । तर, त्यसपछि भएका विभिन्न अध्ययनहरूले पनि औँला चड्काउनु र अस्टियोआर्थराइटीसबीच प्रत्यक्ष सम्बन्ध नरहेको देखाएका छन् । 

औँला पड्किँदा आवाज किन आउँछ ?
औँला पड्काउँदा आउने आवाज वास्तवमा हड्डी फुटेको वा जोर्नी बिग्रिएको संकेत होइन । मानव शरीरका औँला, गर्धन र ढाडका धेरै जोर्नी ‘साइनोभियल फ्लुइड’ले घेरिएका हुन्छन् । यो तरल पदार्थले जोर्नीलाई चिल्लो बनाउने र हड्डीहरूबीच घर्षण कम गर्ने काम गर्छ ।

जब औँलालाई तन्काइन्छ, मोडिन्छ वा घुमाइन्छ, जोर्नीभित्रको खाली ठाउँ केही समयका लागि बढ्छ । त्यसक्रममा जोर्नीभित्रको दबाब घट्छ र साइनोभियल फ्लुइडमा घुलेका ग्यासहरूबाट साना फोका बन्न सक्छन् । त्यही प्रक्रियाका क्रममा आउने आवाजलाई हामी ‘चट्’ वा ‘पप’ भनेर सुन्छौँ ।

अर्थात् औँला चट्किँदा आउने आवाज हड्डी एकअर्कामा ठोक्किएर आएको होइन । जोर्नीभित्र हुने दबाब परिवर्तन र ग्याससम्बन्धी प्रक्रियासँग यसको सम्बन्ध हुन्छ ।

वैज्ञानिकहरूले अल्ट्रासाउन्डमार्फत जोर्नी चड्काउने प्रक्रियाको अध्ययन गर्दा पनि त्यसभित्र हुने परिवर्तनलाई प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् । यसक्रममा चड्किएको क्षणलाई निकै तीव्र घटनाका रूपमा देखिएको थियो ।

औँला पड्काउँदा बाथ हुन्छ ?
औँला पड्काउने मानिसहरूको सबैभन्दा ठूलो चिन्ता यही हो, “यसले पछि बाथ हुन्छ कि हुँदैन ?”

रुमेटोलोजी विशेषज्ञहरूका अनुसार, सामान्य रूपमा औँला चड्काउँदैमा अस्टियोआर्थराइटिस हुने प्रमाण छैन । अस्टियोआर्थराइटिस जोर्नीको कार्टिलेज क्रमशः घिसिँदै जाँदा हुने रोग हो । कार्टिलेजले हड्डीको जोर्नीलाई सुरक्षा दिने र घर्षण कम गर्ने काम गर्छ ।

विभिन्न अध्ययनले औँला चड्काउने बानी र अस्टियोआर्थराइटिसबीच प्रत्यक्ष सम्बन्ध नदेखाएको बताउँछन् । 

सन् १९७५ मा प्रकाशित एउटा अध्ययनमा नर्सिङ होममा रहेका २८ जनालाई समेटिएको थियो । अध्ययनले दैनिक औँला पड्काउने र नपड्काउने व्यक्तिमा डिजेनेरेटिभ आर्थराइटिसको दरमा उल्लेखनीय अन्तर देखाएको थिएन । 

त्यसैगरी, पछिल्लो एउटा रेट्रोस्पेक्टिभ अध्ययनमा अस्टियोआर्थराइटिस भएका २१५ व्यक्तिको औँला पड्काउने इतिहासको अध्ययन गरिएको थियो । उनीहरूको तुलना अस्टियोआर्थराइटिस नभएका व्यक्तिसँग गरिएको थियो ।

अध्ययनबाट व्यक्तिले जीवनभर औँला कति पटक वा कति वर्षसम्म पड्कायो भन्ने कुराले अस्टियोआर्थराइटिस हुने जोखिममा उल्लेखनीय प्रभाव नपारेको देखियो । यसले लामो समयदेखि समाजमा रहेको “औँला चटकाए बाथ हुन्छ” भन्ने धारणालाई कमजोर बनाउँछ । 

ग्रिप कमजोर हुन्छ भन्ने दाबी पनि प्रमाणित भएन
औँला पड्काउनेसँग जोडिएको अर्को धारणा हो– यसले हातको पकड अर्थात ‘ग्रिप स्ट्रेन्थ’ कमजोर बनाउँछ ।

हातको पकड शक्ति शरीरको समग्र स्वास्थ्यसँग सम्बन्धित एउटा महत्त्वपूर्ण सूचक मानिन्छ । कमजोर ग्रिप विभिन्न स्वास्थ्य समस्यासँग सम्बन्धित हुन सक्छ । त्यसैले औँला पड्काउने बानीले हातको शक्ति घटाउँछ कि भन्ने विषयमा पनि अध्ययन भएका छन् । 

सन् १९९० मा गरिएको एउटा अध्ययनमा १८ देखि ६० वर्ष उमेर समूहका ७४ जना मानिसलाई समेटिएको थियो । त्यस अध्ययनले औँला चड्काउने मानिसमा हातको पकड केही कमजोर र हात सुन्निने समस्या बढी हुन सक्ने देखाएको थियो ।

तर, त्यसपछिका अध्ययनले उक्त निष्कर्षलाई समर्थन गरेनन् । सन् २०१७ मा गरिएको अर्को अध्ययनले औँला पड्काउने बानी र ग्रिप स्ट्रेन्थ कमजोर हुनेबीच उल्लेखनीय सम्बन्ध नभएको देखाएको थियो । 

कहिले सावधानी अपनाउने ?
औँला पड्काउनु सामान्यतया हानिकारक नभए पनि त्यसो गर्दा हुने दुखाइ वा अन्य असामान्य लक्षणलाई भने बेवास्ता गर्नु हुँदैन ।

न्युरोसर्जन जे जगन्नाथका अनुसार, जोर्नी चड्काउँदा दुखाइ, सुन्निने, असहजता वा अन्य समस्या देखिएमा त्यसलाई सामान्य बानीका रूपमा लिनु हुँदैन । 

विशेषगरी गर्धनलाई अत्यधिक बल प्रयोग गरेर वा जोडले तन्काएर चड्काउनु जोखिमपूर्ण हुन सक्छ । सामान्य औँला चड्काउनु र गर्धनलाई अत्यधिक बलपूर्वक चड्काउनु एउटै कुरा होइन ।

त्यसैगरी, औँला पड्काउने क्रममा अत्यधिक बल प्रयोग गर्दा जोर्नी मर्किने वा दुर्लभ अवस्थामा डिस्लोकेसनसमेत हुन सक्छ । यस्ता घटना अत्यन्त कम भए पनि चड्काउँदा बल प्रयोग नगर्नु सुरक्षित हुन्छ ।

औँला पड्काउँदा आवाज आउनु मात्रै समस्या होइन, आवाजसँगै दुखाइ, सुन्निने, रातोपन, जोर्नी चलाउन कठिनाइ, कमजोरी वा चोटपटक जस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । एजेन्सीको सहयोगमा

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार