ट्राफिक प्रहरीले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जारी गरेको परिपत्रअनुसार चेकिङ तथा अन्य ड्युटीका समयमा ट्राफिक प्रहरी कर्मचारीले सवारी चालकलगायत अन्य सेवाग्राहीसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भएकाले यस्तो निर्देशन दिइएको उल्लेख छ ।
गत मंगलबार गरिएको परिपत्रअनुसार अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा अस्वीकार गर्नुपर्नेछ । त्यस्ता अवस्थामा टाढैबाट नमस्कार गरेर मात्रै सम्मान व्यक्त गर्न भनिएको छ ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीको निर्देशनमा जारी गरिएको निर्देशन ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट सबैमा लागू हुनेछ ।




प्रतिक्रिया दिनुहोस्