धनगढी : नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी पुगेका छन्। विशेष महाधिवेशनपछि पहिलोपटक देउवाको गृहप्रदेश पुगेका थापाको स्वागत गर्न मुख्यमन्त्री कमलबहादुर शाह स्वयं धनगढी विमानस्थल पुगेका थिए।
नेपाली कांग्रेसले आजदेखि सुरु गरेको प्रदेश तथा स्थानीय तहकेन्द्रित भेलामा सहभागी हुन थापा धनगढी आएका हुन्। भेलामा संगठन सुदृढीकरण, सरकारको कार्यसम्पादन र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।
उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगिसकेका छन् भने महामन्त्री गुरुराज घिमिरे बिहीबारदेखि धनगढीमै छन्।
थापाको स्वागतका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बहादुर थापा, वनमन्त्री शिवराज भट्ट तथा अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका थिए।
यसअघि “आफ्नो सभापति देउवा नै हो” भन्ने अभिव्यक्ति दिएका मुख्यमन्त्री शाह अहिले भने पार्टी नेतृत्वसँग नजिकिन खोजेको रूपमा हेरिएको छ। कांग्रेसभित्रै शाहविरुद्ध असन्तुष्टि बढिरहेको र नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला उनी स्वयं थापाको स्वागतमा पुग्नु अर्थपूर्ण मानिएको छ।
कतिपय नेताहरूले पद जोगाउन शाहले केन्द्रीय नेतृत्वलाई रिझाउने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। कांग्रेसका केही प्रदेशसभा सदस्यहरू नेतृत्व परिवर्तनको तयारीमा रहेको चर्चा पनि चुलिएको छ।
प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट ले समेत मुख्यमन्त्री शाहले नैतिक रूपमा राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
यता सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि सुदूरपश्चिम सरकारको वर्तमान नेतृत्वप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको बताइन्छ।




प्रतिक्रिया दिनुहोस्