बाजुराका किसानहरू यतिबेला ठूलो चिन्तामा छन्। गहुँबाली पाक्ने महत्वपूर्ण समयमा लगातार असिनापानी पर्न थालेपछि उनीहरूमा बाली नष्ट हुने डर बढेको हो।
गत कात्तिकमा रोपिएको गहुँ अहिले काट्ने तयारीमा पुगेको छ। तर यही बेला दिनहुँजसो असिनापानी परिरहेकाले खेतमै रहेको बाली क्षतिग्रस्त हुने सम्भावनाले किसानहरू त्रसित भएका छन्। त्रिवेणी नगरपालिकाका मानबहादुर नेपालीका अनुसार पाकिसकेको गहुँ घर भित्र्याउन नपाउँदै नष्ट हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको छ।
उनले बताएअनुसार यहाँका किसानहरू वर्षभरि नै विभिन्न प्राकृतिक विपत्तिको जोखिममा रहन्छन्। असारतिर बाढीपहिरोको डर हुन्छ भने हिउँदमा असिनापानीले दुःख दिन्छ। यसले गर्दा खेतीपाती सधैं अनिश्चित बनेको छ।
बाजुराका धेरै ठाउँमा अहिले गहुँ पहेँलपुर भइसकेको छ। सिँचाइ सुविधा भएका खोला किनारका क्षेत्रहरूमा चैत–वैशाखमै गहुँ पाक्ने गर्छ भने पाखा क्षेत्रको गहुँ वैशाख–जेठतिर तयार हुन्छ। बुढीगंगा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र खप्तड छेडेदह क्षेत्रमा गहुँ खेती राम्रो मानिन्छ। विशेष गरी बुढीगंगाका बह्रबिस, कुल्देवमाण्डौ र त्रिवेणीको कैलाशमाण्डौमा उत्पादन बढी हुने गरेको स्थानीयहरू बताउँछन्।
यहाँका किसानहरूले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल र स्वर्गद्वारी जातका गहुँ रोप्दै आएका छन्। यद्यपि धेरैले अझै पनि पुराना स्थानीय बिउमै निर्भर छन्। जिल्लाको कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये करिब २२ हजार हेक्टर मात्र खेतीयोग्य छ, जसमा पनि वर्षभरि सिँचाइ सुविधा पाँच हजार दुई सय ३५ हेक्टरमा मात्र सीमित छ।
कृषि प्राविधिकहरूका अनुसार गहुँ हिउँदे बाली भएकाले हिउँदमा पर्याप्त वर्षा भए उत्पादन राम्रो हुन्छ, नत्र घट्ने सम्भावना रहन्छ। उन्नत बिउको प्रयोगले उत्पादन बढाउन सहयोग गरेको पनि उनीहरू बताउँछन्।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ, जहाँबाट वर्षेनी झन्डै १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ।




प्रतिक्रिया दिनुहोस्