‘स्वीट्जरल्यान्डको विकल्प बडिमालिका’: प्रधानमन्त्रीको बोली, अध्ययनका लागि साढे ३ करोड विनियोजन

भक्तराज जोशी

धनगढी – सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको मेरुदण्ड मानिएको सडक सञ्जाल विस्तारमा सरकारले नयाँ पाइला चालेको छ। गौरवको आयोजनाका रूपमा हेरिएको ‘गौरिफन्टा-मोहनापुल-अत्तरिया-सिलगढी-साँफे-मार्तडी-सुतापाटन-बडिमालिका’ सडकलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित विस्तृत सम्भाव्यता अध्ययनका लागि ३ करोड ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सडक विभागमार्फत अघि बढाइएको यो योजना सुदूरपश्चिमको समग्र पर्यटन विकासका लागि एउटा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

यसअघि चुनावी सभाहरूमा प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिमको भूगोललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यसँग तुलना गर्दै भनेका थिए, “स्वीट्जरल्यान्ड किन जानु प¥यो? यदि बाटो र पूर्वाधार राम्रो छ भने यहाँको बडिमालिका आफैंमा स्वीट्जरल्यान्ड छ।” प्रधानमन्त्रीको उक्त भनाइले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यलाई विश्वस्तरमा चिनाउने सपना बोकेको थियो। अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा उनले त्यही संकल्पलाई साकार पार्ने कडीका रूपमा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्। नागरिकले पनि प्रधानमन्त्रीको सोही भनाइले सडकको भौतिक स्वरूप लिन लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

भारतीय सीमावर्ती क्षेत्र गौरिफन्टाबाट सुरु भएर सुदूरपश्चिमका पहाडी जिल्ला हुँदै बडिमालिका जोड्ने यो सडक चार लेनमा विस्तार भएपछि यसले सिंगो सुदूरपश्चिमको कायापलट गर्नेछ। कुनै पनि क्षेत्रमा पर्यटक भित्र्याउन सडक पूर्वाधार सबैभन्दा ठूलो ‘लाइफलाइन’ हो। तसर्थ, ३ करोड ४६ लाख ५० हजार रुपैयाँको बजेटमार्फत गरिने यस आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनले सडकको प्राविधिक र आर्थिक पक्षलाई स्पष्ट पार्नेछ। बाटो जति फराकिलो र सहज हुन्छ, त्यति नै बढी पर्यटक सुदूरपश्चिमका प्राकृतिक सौन्दर्य र धार्मिक तीर्थस्थलमा आकर्षित हुनेछन्।

सडक विभागले अघि बढाएको यो कार्यले सुदूरपश्चिमको विकासमा नयाँ आशाको सञ्चार गरेको छ। स्थानीयवासीहरू भन्छन्, “प्रधानमन्त्रीले चुनावी सभामा व्यक्त गरेको प्रतिबद्धता आज बजेटमा समेटिएको देख्दा हामी उत्साहित छौं। अब यो सडक छिट्टै निर्माणको चरणमा प्रवेश गरोस्, यही नै हाम्रो चाहना हो।” सडक सञ्जालको सहज पहुँचले सुदूरपश्चिमले अब आर्थिक समृद्धिको नयाँ बाटो तय गर्ने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार