नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच सोमबार घरेलु मैदानमा हुने पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित कमेन्टेटर एन्ड्र्यू लियोनार्द अर्थात्, ‘टक्लु दाइ’ नेपाल आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट समर्थक माझ उभिएर उनले नेपाल र यूएईबीचको खेल हेर्न सार्वजनिक रूपमा आह्वान समेत गरे ।
नेपाली क्रिकेटप्रतिको अगाध स्नेहका कारण नेपाली समर्थकले उनलाई ‘टक्लु दाइ’ उप–नाम दिएका हुन् ।
आफ्नो सामाजिक सञ्जालमामार्फत् सार्वजनिक गरेको भिडियो क्लिपमा उनले नेपालमा दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्कनु क्रिकेट प्रेमीका लागि खुसीको कुरा भएको बताएका छन् । उनले नेपाल आफ्नो दोस्रो घर भएको पनि बताएका छन् ।
केही समर्थकले विमानस्थलमा उनलाई ‘टक्लु दाइ’ भन्दै स्वागत पनि गरेका थिए । ‘नमस्ते, दुई वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । सँगै म पनि मेरो दोस्रो घर र सबैभन्दा मन पर्ने स्थान काठमाडौं फर्किएको छु । त्यसैले म निकै उत्साही छु,’ उनले भनेका छन् ।
आयरल्यान्डको डब्लिनमा जन्मिएका लियोनार्द विश्व क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनी नेपाल र नेपाली क्रिकेटलाई निकै माया गर्छन् ।
नेपालमा मात्र होइन, विश्वको जुनसुकै स्थानमा नेपाली टोलीको खेल हुँदा पनि उनलाई टोलीको हौसला बढाइरहेको देख्न पाइन्छ ।
उनले सधैं नेपाललाई आफ्नो दोस्रो घर बताउने गरेका छन् । नेपाली क्रिकेट प्रेमी माझ उनी निकै चर्चित छन् । नेपाल र यूएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय सोमबार साँझ ५ बजे शुरू हुँदैछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटमा यो खेल खेलिने छ । नेपालमा फ्लड लाइटमा खेलाउन लागिएको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हो ।




प्रतिक्रिया दिनुहोस्