निर्वाचन सकिएपछि डोटीका गाउँघर पुनः सुनसान

डोटीः गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण केही दिन चहलपहल बढेका डोटीका गाउँघर पुनः सुनसान हुन थालेका छन्। मतदानका लागि गाउँ फर्किएका मतदाताहरू फेरि आफ्नो कार्यस्थल र बसोबासका स्थानतर्फ फर्किन थालेपछि ग्रामीण बस्तीहरूमा चहलपहल घटेको हो।

मतदानमा सहभागी हुन भारतलगायत जिल्ला बाहिर अध्ययन, रोजगारी र बसोबासका लागि गएका नागरिकहरू गाउँ फर्किएपछि केही समयका लागि स्थानीय बस्तीहरूमा निकै चहलपहल देखिएको थियो।

“मतदाता नामावलीमा नाम यतै भएकाले भोट हाल्न आएँ, अब फेरि कैलाली फर्किँदै छु,” मतदान गरेर कैलाली जाँदै गर्दा डोटीको दिपायलमा भेटिएका सायल गाउँपालिका–४ का डम्मर भुलले भने “भूकम्पले घर चर्किएपछि परिवारसहित कैलाली बसाइँ सरेका हौँ। हामीजस्तै चुनावका लागि गाउँ आएका धेरैजसो अहिले फर्किसके।”

निर्वाचनका बेला विभिन्न ठाउँमा बसोबास गरिरहेका मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किएका थिए। विशेषगरी जिल्ला सदरमुकाम, काठमाडौँ, धनगढी तथा छिमेकी देश भारतलगायत स्थानमा अध्ययन तथा रोजगारी गरिरहेका नागरिकहरू पनि मतदानका लागि गाउँ आएका थिए।

डोटीका ग्रामीण क्षेत्रहरू बसाइँसराइ, अध्ययन र रोजगारीका कारण वर्षभरि नै सुनसानजस्तै देखिन्छन्। चाडपर्वमा मात्र चहलपहल बढ्ने गाउँहरूमा लामो समयपछि मतदाता फर्किँदा उत्साह र रौनक देखिएको थियो। भोट माग्न आउने राजनीतिक दलका नेता–कार्यकर्ता, आफन्त र साथीभाइसँगको भेटघाटका कारण गाउँका चोक, पसल, बजार र घरआँगनमा केही दिन चहलपहल बढेको स्थानीयले बताएका छन्।

निर्वाचन सम्पन्न भएसँगै गाउँघर फेरि पुरानै लयमा फर्किन थालेको छ। डोटीमा प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा करिब ४० प्रतिशत मतदाताले मतदान गरेका थिए। -गाेरखापत्र  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार