काठमाडौं : अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल (Joel B. Vowell) आज नेपाल आउँदै छन्। ४ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी भुटान हुँदै आज काठमाडौंमा आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘जोएल बी भोवेलको नेतृत्वको सैनिक टोली ३ दिने भ्रमणमा आज नेपाल आउन लागेको हो। यो उहाँहरुको पूर्व निर्धारित र नियमित भ्रमण हो। भ्रमणको क्रममा प्रधानसेनापतिसहित उच्चपदस्थ अधिकारीसँग भेटवार्ता हुनेछ।’
भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श हुनेछ। भ्रमण टोलीले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए।
बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका उनी भुटान गएका थिए। आज ‘ड्रुक एयर’बाट उनी नेतृत्वको टोली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन पश्चात नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । यसअघि पनि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे. पापारो नेपाल आएका थिए।




प्रतिक्रिया दिनुहोस्