काठमाडौं । अमेरिकाका सबै सेनाका प्रमुख जनरल ड्यान क्यानले इरानमा अमेरिकी सैन्य उद्देश्य पूरा गर्न समय लाग्ने बताएका छन् । ‘चेयरम्यान अफ द जोइन्ट चिफ्स अफ स्टाफ’ जनरल क्यानले अमेरिकाले अझ बढी क्षतिको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
राजनीतिज्ञको दाबीविपरीत यी शीर्ष सैन्य अधिकारीले इरान युद्धको हाललाई कुनै अन्त्य नदेखिएको स्वीकार गरेका हुन् । वासिङटनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, “यो रातारात सम्पन्न हुने अपरेसन होइन । सेन्ट्रल कमान्ड र जोइन्ट फोर्ससामु राखिएका सैन्य उद्देश्य हासिल गर्न केही समय लाग्नेछ । र, कतिपय अवस्थामा यो कार्य कठिन र अप्रिय पनि हुनेछ ।”
इरानविरुद्ध अमेरिका र इजरायलले तीन दिनदेखि जारी राखेको युद्धमा हालसम्म ६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ ।
उनीसँगै पत्रकार सम्मेलनमा सहभागी अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ सेना प्रमुखको भनाइबाट केही असहज देखिएका थिए । हेग्सेथले इरानविरुद्धको अभियान अन्तहीन युद्ध नहुने जिकिर गरे । यसको उद्देश्य तेहरानको क्षेप्यास्त्र, नौसेना र अरू सुरक्षा संरचनालाई ध्वस्त पार्नु रहेको उनले बताए ।
हेग्सेथले यो अभियान कति समयसम्म चल्छ भन्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने स्पष्ट पारे ।
यसैबीच, सोमबार इरानका शीर्ष सुरक्षा अधिकारी अली लारीजानीले पुनः एकपटक अमेरिका र इजरायललाई कडा पाठ सिकाउने घोषणा गरेका छन् । लारीजानीले इरानले जुनसुकै मूल्यमा आफ्नो रक्षा गर्ने बताए ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “हामी पूर्ण दृढताका साथ आफ्नो ६ हजार वर्ष पुरानो सभ्यताको रक्षा गर्नेछौँ । यसनिम्ति जस्तोसुकै मूल्य चुकाउन परे पनि फरक पर्दैन । हाम्रा शत्रुले यो गल्तीका निम्ति पछुताउनुपर्नेछ भन्ने हामी सुनिश्चित गर्नेछौँ ।”




प्रतिक्रिया दिनुहोस्