बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नेहरु ह्वात्तै बढेका छन् । विभिन्न मुलुकमा रोजगारीका लागि गएका युवाहरु स्वदेश फर्किएर परिवर्तन अभियान चलाएपछि निर्वाचनको मुखमा बझाङमा रास्वपा प्रवेश गर्नेहरु बढेका हुन् ।
आइतबार मात्रै बझाङमा विभिन्न दलमा आबद्ध रहेका ६० जना युवाहरु रास्वपा प्रवेश गरेको रास्वपा उम्मेदवार शैलेस सिंहले जानकारी दिएका छन् ।
सिंहका अनुसार पछिल्लो समय विभिन्न राजनीतिक दलका कार्यकर्ता र युवा पुस्ता रास्वपातर्फ खुला रूपमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ ।

यसरी रास्वपा प्रवेश गर्नेको लर्को बढ्नुको अर्थ केवल पार्टी प्रवेश मात्र नभएर परिवर्तनको संकेत भएको पनि सिंहको भनाई छ । उनले नयाँ राजनीतिक सोच, पारदर्शिता र वैकल्पिक नेतृत्वको खोजीले युवाहरुलाई रास्वपातर्फ तानिरहेको बताएका छन् ।
बझाङमा पछिल्ला दिनहरूमा निरन्तर रूपमा कार्यकर्ता प्रवेश भइरहँदा परम्परागत राजनीतिक दलहरू भने आन्तरिक चुनौतीमा परेको चर्चा सुरु भएको छ । जिल्लामा रास्वपाको संगठन विस्तारसँगै आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पर्ने आँकलन गरिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, युवा वर्गको सक्रिय सहभागिताले जिल्लाको राजनीतिमा नयाँ बहस र प्रतिस्पर्धा सिर्जना गर्ने संकेत देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्