धनगढी, १७ फागुन / सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित स्थापना भएको नवजीवन अस्पताल आज क्षेत्रीय स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भएको छ। २०६२ सालमा १५ शैयाबाट औपचारिक सेवा सुरु गरेको अस्पतालले चरणबद्ध पूर्वाधार विकास र सेवा विस्तार गर्दै २०७९ सालदेखि १०० शैयाको स्वीकृतिसहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको नवजीवन अस्पताल प्रा. लि मेडिकल डाइरेक्टर डा. बिदुरमणी ढकालले नवजीवन अस्पतालको २० औँ वार्षिक उत्सवको अवसरमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
स्थापनाकालदेखि नै अस्पतालले उपचार सेवासँगै स्वास्थ्य चेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ। इमर्जेन्सी, बहिरंग (ओपीडी) तथा अन्तरंग (आईपीडी) सेवा नियमित सञ्चालनमा छन् भने निःशुल्क सुत्केरी सेवा, खोप कार्यक्रम र विभिन्न स्वास्थ्य शिविरमार्फत समुदायमै पुगेर सेवा प्रदान गर्ने कार्यले ग्रामीण तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
अस्पतालमा हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, मिर्गौला रोग, बालरोग, कान-नाक-घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, कलेजो रोग, हार्मोन तथा मधुमेह, सामान्य शल्यक्रिया, न्युरो सर्जरी, युरोलोजी, एनेस्थेसियोलोजी, आकस्मिक सेवा, रेडियोलोजी तथा इमेजिङ, प्याथोलोजी, दन्तरोग, फिजियोथेरापी तथा पुनर्स्थापना, नर्सिङ र फार्मेसी विभाग सञ्चालनमा छन्। साथै आइसियुमा, एनआइसियु , हेमोडायलाइसिस, सीटी स्क्यान तथा २४ घण्टा एम्बुलेन्स सेवाको उपलब्धता सहित स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।
अस्पतालअन्तर्गत सञ्चालित नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेसमार्फत दक्ष स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन्, जसले क्षेत्रीय तथा राष्ट्रिय स्वास्थ्य सेवामा सकारात्मक योगदान पुर्याइरहेका छन्।
विशेषज्ञ सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग र समुदायकेन्द्रित कार्यक्रमका कारण नवजीवन अस्पताल सुदूरपश्चिमका नागरिकका लागि विश्वासिलो स्वास्थ्य गन्तव्य बन्दै गएको छ।
अस्पतालले २० औँ वार्षिक उत्सवको उपलक्ष्यमा आज अस्पताल प्राङ्गणमै रक्तदान कार्यक्रम समेत गरेको छ।




प्रतिक्रिया दिनुहोस्