तनहुँको क्षेत्र नम्बर १ सँग राष्ट्रपति रामचन्द्र पौडेलको एउटा संयोग छ।
उनले संसदीय चुनावमा ‘डेब्यू’ गरेको यही क्षेत्रबाट हो। उनी संसदीय चुनाव पहिलो पटक हारेको पनि यही क्षेत्र हो। र, उनले संसदीय चुनावमा अन्तिम पटक प्रतिस्पर्धा गरेको पनि यही क्षेत्रबाट हो।
२०४८ सालको चुनावमा तनहुँ–१ बाट निर्वाचित पौडेल २०५१ सालदेखि २ नम्बर क्षेत्रमा गए। त्यहाँ पनि उनले एकछत्र जित्दै आए।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि तनहुँका तीनवटा क्षेत्र मिलाएर दुईवटा बनाइए। साबिकको १ नम्बर र पौडेलले जित्दै आएको २ नम्बरको आधा क्षेत्र मिसाएर अहिलेको १ नम्बर क्षेत्र बन्यो।
त्यसपछि २०७४ को चुनावमा पौडेल यही क्षेत्रबाट उम्मेदवार बने। २०४८ देखि निरन्तर चुनाव जित्दै आएका पौडेललाई यो क्षेत्रले पहिलो पटक ब्रेक लगाइदियो। उनी त्यतिखेरको वाम गठबन्धनबाट पराजित भए।
त्यसको पाँच वर्षपछि २०७९ मा पौडेल फेरि यही क्षेत्रबाट चुनाव उठे। त्यो उनको अन्तिम संसदीय चुनाव थियो। उनी २५ हजार मतसहित विजयी भए र केही महिनामै देशका राष्ट्रपति बने।
पौडेल राष्ट्रपति बनेपछि तनहुँ–१ मा भएको उपनिर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले विजयी भए।
वाग्लेले ३४ हजार ९११ मत ल्याएका थिए भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए। एमालेका सर्वेन्द्र खनाल ८ हजार ४८८ मतसहित तेस्रो स्थानमा रहे।
अब हामी वाग्लेले पाएको झन्डै ३५ हजार मत कहाँबाट आयो भन्ने हेरौं।
उपनिर्वाचनमा भट्टराईले पाएको २० हजार मत अघिल्लो चुनावमा कांग्रेसले पाएको समानुपातिक मत बराबर छ। २०७९ को चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेर पनि रामचन्द्र पौडेलले योभन्दा पाँच हजार मत मात्र बढी ल्याएका थिए।
यसको अर्थ, वाग्लेले कांग्रेसको मत धेरै काट्न सकेका थिएनन्।
एमालेको स्थिति हेर्ने हो भने २०७९ को चुनावमा एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत पाएका थिए। समानुपातिकमा एमालेले पाएको मत साढे १६ हजार थियो। जबकि, उपनिर्वाचनमा सर्वेन्द्र खनालले जम्मा साढे ८ हजार मत ल्याए।
यसको अर्थ, अघिल्लो चुनावमा एमालेले पाएको करिब ११ साढे हजार मत वाग्लेतिर गयो।
अघिल्लो चुनावमा कांग्रेसकै पूर्वनेता गोविन्दराज जोशी पनि उठेका थिए। उनले ६ हजार ८८६ मत ल्याए। उपनिर्वाचनमा उनले रास्वपालाई समर्थन गरेकाले उनको भागको मत वाग्लेतिरै गएको देखिन्छ।
तनहुँ–१ को उपनिर्वाचनमा पनि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो। भट्टराई त्यही गठबन्धनका उम्मेदवार थिए। तर उनले गठबन्धनका अरू दलबाट खासै भोट पाएनन्। माओवादी र एकीकृत समाजवादी गरी ५ देखि ७ हजार मत वाग्लेलाई गएको हिसाब यहाँका नेताहरूले राखेका छन्।
त्यसबाहेक अघिल्लो चुनावमा रास्वपा उम्मेदवारले ल्याएको साढे ६ हजार भोट पनि वाग्लेतिरै जाने भइहाल्यो।
यति मात्र होइन, अघिपछि दल बदलिरहने ‘स्वीङ भोट’ पनि स्वर्णिम वाग्लेलाई नै गयो।
यसपालि फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि तनहुँ–१ मा फेरि रास्वपाबाट स्वर्णिम वाग्ले र कांग्रेसबाट गोविन्द भट्टराई नै भिड्दै छन्। रास्वपा उपसभापति समेत रहेका वाग्लेलाई पार्टीले भावी अर्थमन्त्रीका रूपमा अघि सारेको छ।
नेकपा एमालेले भने राष्ट्रियसभा सदस्य रहेकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकाको मेयर हारेकी न्यौपानेलाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित गरेको थियो। एमालेबाट राष्ट्रिय सभाको संसदीय दलका नेता भएकी न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका थिए।
यही क्षेत्रमा जन्मे–हुर्केर काम गरेकी उनलाई एमालेका पुराना मतदाता जोगाउनु र नयाँ आकर्षित गर्नु सबभन्दा ठूलो चुनौती हो। दुईवटा चुनावमा निरन्तर पराजित भएको यो क्षेत्रमा एमालेको साख जोगाउने चुनौती पनि उनीसामु छ।
त्यस्तै, गोविन्दराज जोशीका छोरा दिपकराज जोशीले पनि यसपटक स्वतन्त्र उम्मेदवारी दिएका छन्।
तनहुँ–१ मा तीन वर्षमा दोस्रो पटक हुन गइरहेको यो चुनावमा रास्वपाले अघिल्लो चोटिको जितलाई निरन्तरता दिन सक्छ कि सक्दैन भन्नेमा धेरैको चासोको छ।
वाग्लेको सबभन्दा ठूलो चुनौती उपचुनावमा आफूतिर तानेको एमाले र माओवादीको परम्परागत मतलाई यसपालि पनि आफ्नो पक्षमा टिकाएर राख्नु हो।
अघिल्लो पटकजस्तै एमाले र माओवादी मत तान्न सके र नयाँ मतदाता आकर्षित गर्न सके उनले आफ्नो जितलाई निरन्तरता दिन सक्छन्। जेनजी आन्दोलनपछि एमाले मतदातामा छाएको निराशाको फाइदा वाग्लेले उठाउन सक्ने आकलन यहाँका स्थानीय नेताहरूको छ। त्यसै पनि नियमित रूपले निर्वाचन क्षेत्र घुमिरहने हुँदा वाग्लेको लोकप्रियता घटेको छैन। पार्टीले भावी अर्थमन्त्री घोषणा गर्नुले पनि उनलाई चुनावमा फाइदा हुन सक्छ।
अर्कातिर, उपचुनावमा रास्वपाको पक्षमा व्यापक लहर आउँदा पनि कांग्रेसले आफ्नो परम्परागत मत गुमाएको थिएन। त्यसैले गोविन्द भट्टराईले यसपालि पनि वाग्लेलाई कडा टक्कर दिन सक्छन्।
तनहुँमा ६० भन्दा बढी खानेपानी आयोजना निर्माण र थुप्रै सामाजिक तथा विकास निर्माणमा संलग्न रहेकाले भट्टराई स्थानीय स्तरमा लोकप्रिय नेता हुन्। दोस्रो चोटिको प्रतिस्पर्धामा उनले पहिलेजस्तै कांग्रेस मत जोगाएर राख्न सके र एमाले, माओवादी र नयाँ मतदाता थोरै थोरै पनि आफूतिर तान्न सके तनहुँ–१ मा कांग्रेसको गुमेको विरासत फर्काउन सक्छन्।
यसबाहेक गोविन्दराज जोशीको करिब ६ हजार मत अघिल्लोचोटि रास्वपातिर गएको थियो। त्यसको केही हिस्सा यसपालि उनका छोरा दिपकराजको पक्षमा जान सक्छ। वाग्ले र भट्टराई दुवै पक्ष यो मत बढीभन्दा बढी आफूतिर तान्ने कोसिसमा रहेको स्थानीय नेताहरू बताउँछन्।





प्रतिक्रिया दिनुहोस्