‘हेभीवेट’ थानी–खड्काले मैदान खाली गरेको सुर्खेतमा जेल ब्रेकरदेखि यातायात व्यवसायीसम्म उम्मेदवार !

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा यसअघि चुनावमा सधैँ ‘हेभीवेट’ भिडन्त हुन्थ्यो । पूर्वउपप्रधान तथा गृहमन्त्री भइसकेका कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत—१ र क्षेत्र—२ मा पूर्वमन्त्री एवं कांग्रेस नेता हृदयराम थानी चुनावी मैदानमा हुँदा सबैको ध्यान सुर्खेतमै केन्द्रित हुने गर्दथ्यो । 

अझ ०७४ सालअघि हाल कर्णालीका मुख्यमन्त्री समेत रहेका एमाले नेता यामलाल कँडेल पनि चुनावी मैदानमै हुन्थे । यद्यपि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यी तीनै जना चुनावी मैदानमा छैनन् ।

SHIKHAR COOL TECH

कँडेल प्रदेशको मुख्यमन्त्रीमा बहाल छन् भने तीन दशकदेखि चुनाव लड्दै आएका खड्का र थानीले मैदान छाडिदिएका छन् । थानीले केही दिनअघि खुट्टाको समस्या भन्दै चुनाव नलड्ने घोषणा गरे भने खड्काले कांग्रेस विभाजनपछि आधिकारिकताको विषय अदालतमा पुगेकाले नैतिकताका आधारमा चुनाव नलड्ने बताए । 

थानीले ०५१ सालयता ०५६, ०६४, ०७०, ०७४ र ०७९ को निर्वाचन लडेका थिए, कांग्रेसबाट । जसमा उनको हार/जित बराबर (३/३) छ । थानीले खुट्टोका समस्या भने पनि उनले चुनावी मैदान छाड्नुको कारण उनका सहयात्रीहरूले उनको साथ छाड्नु भएको बताइन्छ । उनी निकट मानिने सुर्खेतका कांग्रेसी नेताहरू विशेष महाधिवेशनतर्फ खुलेका थिए । तर थानी खुलेनन् । 

उता क्षेत्र १ मा खड्का भने ०४८ सालदेखिका सबैजसो संसदीय निर्वाचनमा भाग लिए । ०४८, ०५१, ०५६, ०७०, ०७४ र ०७९ मा उम्मेदवार बनेका खड्का ०६४ सालमा भने समानुपातिक सभासद् थिए ।

०७४ मा एमाले—माओवादीबिच बाम गठबन्धन हुँदा खड्का पराजित भएका थिए । त्यसबाहेक सबैजसो निर्वाचन जित्दै आएका खड्काले धेरै जसो मन्त्रालयको नेतृत्व मात्र नभई समग्र राष्ट्रिय राजनीतिकै ‘किङमेकर’ को भूमिका निभाए । 

यी दुवै ‘हेभीवेट’ नेताको चुनावी विश्रामपछि हुन लागेका आगामी निर्वाचनमा भने दुवै क्षेत्रमा अधिकांश नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् । खड्काको क्षेत्रमा उनकै कान्छा भाइ विष्णुकुमार खड्का कांग्रेसबाट उम्मेदवार छन् भने  थानीको क्षेत्रमा थानीकै कुनै वेलाका विश्वासपात्र नारायण कोइराला उम्मेदवार छन् । 

सुर्खेत—१, मा एमालेबाट उम्मेदवार बनेका ध्रुवकुमार शाहीबाहेक दुवै क्षेत्रमा नयाँ अनुहार मैदानमा छन् । थानी र खड्काले मैदान छाडे पनि नयाँ पुस्ताका उम्मेदवारहरूबिच हुन लागेको निर्वाचनबारे भने सबैको चासो छ नै । 

०७४ मा सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्र गुमाएको कांग्रेसले ०७९ को निर्वाचनमा माओवादीको सहयोगमा फिर्ता ल्याएको थियो । ०७९ मा एमालेले पुनः दुवै क्षेत्र गुमायो । अहिले सबैजसो प्रमुख राजनीतिक दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

नयाँ राजनीतिक दलहरू समेत चुनावी मैदानमा आउँदा मुख्य प्रतिस्पर्धा भने तीन ठुला राजनीतिक दलहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच नै हुने आकलन गरिएको छ । यी क्षेत्रमा कांग्रेस र एमाले सांगठनिक रुपमा उस्ता उस्तै दल हुन् भने साबिकको माओवादी तेस्रो ठुलो राजनीतिक दल हो ।

 सुर्खेत—१ः विष्णुलाई दाइको विरासत जोगाउने चुनौती, नयाँ दलहरू ‘स्पेस’ खोज्दै

  क्षेत्र नम्बर १ सुर्खेतको पूर्वी क्षेत्र हो । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १५ र १६, लेकबेसी नगरपालिका, भेरिगंगा, गुर्भाकोट नगरपालिका र चिङ्गाड र सिम्ता गाउँपालिका क्षेत्र यो क्षेत्रमा पर्दछन् । 

यहाँ खड्काको ठाउँमा उनका भाइ विष्णुकुमार खड्का चुनावी मैदानमा आउँदा उनीसँगै प्रतिस्पर्धामा एमालेका ध्रुवकुमार शाही, नेकपाबाट जीतबहादुर राना, राप्रपाबाट जेनजी अभियन्ता रविकिरण हमाल, रास्वपाबाट टेकबहादुर सिंह र उज्यालो नेपाल पार्टीबाट ठम्मर विष्ट लगायत १३ जना उम्मेदवार छन् । जसमध्ये एमालेका शाही यसअघि ०७४ मा चुनाव जितेका र ०७९ मा पराजित अनुहार हुन् । बाँकी सबै नयाँ अनुहार हुन् ।

खड्काको विरासत जोगाउन मैदानमा उत्रिएका विष्णुलाई यो पटक चुनौती भने उत्तिकै छ । उनी व्यवसायी हुन्, वीरेन्द्रनगरमा उनको पेट्रोल पम्पदेखि अन्य व्यवसाय छन् । उनी यातायात व्यवसायी पनि हुन् । उसो त उनी हरेकजसो चुनावी अभियानका क्रममा दाइ पूर्णबहादुरको रणनीतिकार पनि हुन् । सबैतिर चिनिएका विष्णु पार्टीको सुर्खेत जिल्ला उपसभापति हुन् । तर उनलाई आफ्नै दाइका प्रतिस्पर्धी एमालेका शाही र अन्य उम्मेदवारसँग चुनावी मैदान फेस गर्न उत्तिकै चुनौती रहेको विश्लेषण सुर्खेतका चोक–चोकमा सुनिन थालेका छन् ।

एमालेका शाही एमाले प्रदेशका सचिव हुन् भने अनुभवी नेता पनि हुन् । उक्त क्षेत्रमा एमालेमा उनीजस्तो जनाधार भएको अरू नेता नभएकाले नै एमालेले उनलाई उम्मेदवार बनाएको हो । ०७९ मा कांग्रेसका खड्काले ४२ हजार ६०७ मतसहित चुनाव जित्दा उनले ३० हजार ९८८ मत पाएका थिए ।

०७४ मा शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए । तर दुवै निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा एमाले कमजोर रहेको देखाउँछ । ०७४ मा खड्कालाई पराजित गरेका शाहीको मत परिणाम अन्तर र ०७९ मा खड्काले पाएको मत परिणाम अन्तर हेर्दा कांग्रेस बलियो नै रहेको देखाउँछ ।

तथापि पूर्णबहादुरले मैदान छाड्दा र अन्य दलहरू पनि एक्लाएक्लै चुनावी मैदानमा होमिएका एमालेका शाहीलाई फाइदा मिल्न सक्छ । तर नेकपाका राना, रास्वपा, राप्रपाका युवा नेताहरूले भोट तान्न सक्ने सम्भावना पनि उत्तिकै छ । जेनजी आन्दोलनपछि पुराना दलहरूबिच आक्रोश बढिरहेका वेला युवाहरू मैदानमा उत्रिँदा ठुला दललाई मतभारमा स्वतः क्षति पुग्ने छ नै । 

यद्यपि प्रतिस्पर्धा भने कांग्रेस, एमाले र त्यसपछि नेकपाबिचमै हुने आकलन छ । यहाँ माओवादीको वास्तविक परीक्षण पनि यो चुनावमा हुने छ । यसअघि ०७४ मा एमाले र ०७९ मा कांग्रेसलाई सघाएको माओवादी अहिले नेकपामा रूपान्तरण भएर चुनावी मैदानमा छ ।

नेकपाबाट उम्मेदवार रहेका जीतबहादुर राना युद्धकालका लडाकु नै हुन् ।

तर कांग्रेसको उपसभापति समेत रहेर अहिले रास्वपाबाट उम्मेदवार बनेका टेकबहादुर सिंहले पनि थोरबहुत कांग्रेसलाई घाटा लगाउनसक्ने आकलन गरिएको छ ।

सुर्खेत २ः खानेपानीका अध्यक्षदेखि जेल ब्रेकरसम्म प्रतिस्पर्धामा

क्षेत्र नम्बर २ सुर्खेतको पश्चिम क्षेत्र हो । वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा बाहेक सबै, चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका पर्दछन् ।

यो क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा पुरानादेखि नयाँ दलका सबै उम्मेदवारहरु ‘फ्रेस फेस’ नै हुन् । थानीको विरासत थाम्न कांग्रेसबाट नारायण कोइराला चुनावी मैदानमा छन् । उनी सबैतिर चिनिएका सालिन र बौद्धिक नेता हुन् । उनी यसअघि वीरेन्द्रनगर उपत्यका नगर विकास समितिका अध्यक्ष थिए ।

यता एमालेबाट सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर लामो समय काम गरेको कुलमणि देवकोटा उम्मेदवार छन् । उनी यामलाल कँडेलका विश्वासपात्र हुन् भने एमाले सुर्खेतका अध्यक्ष पनि हुन् ।

उम्मेदवारहरूमध्ये सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् उनी । यता नेकपाबाट पूर्व जनमुक्ति सेनाका कमान्डर तथा सुर्खेत ‘जेलब्रेक’का नेतृत्वकर्ता झकबहादुर मल्ल ‘सुदीप’ चुनावी मैदानमा छन् । 

यस्तै रास्वपाबाट कांक्रेविहार यातायात प्रालिका अध्यक्ष समेत रहेका यातायात व्यवसायी रमेश सापकोटा चुनावी मैदानमा छन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर सहरीया क्षेत्र पर्ने भएकाले रास्वपाले थोरबहुत भोट ताने पनि मुख्य प्रतिस्पर्धा भने पुरानै तीन ठुला राजनीतिक दलहरूबिच हुने आकलन गरिएको छ । 

यसअघिका दुई चुनावमा माओवादी परीक्षण हुन पाएको छैन । तर उसको पनि एमाले—कांग्रेसपछि सांगठनिक भोट छ । कांग्रेस—एमालेका उम्मेदवार सांगठनिक भोटमा विश्वस्त छन् ।

उम्मेदवार भएकामध्ये नेकपा बाहेक अरू वीरेन्द्रनगरबाट छन् भने नेकपाका उम्मेदवार मल्ल बराताल—४ को तरङ्गामा जन्मिएका हुन् । युवाहरूबिच लोकप्रिय उनी सहिद परिवारका सदस्य हुन् ।

यहाँ कांग्रेसको आन्तरिक किचलोले गर्दा सांगठनिक भोटमा केही क्षति हुने आकलन गरिएको छ । त्यसको फाइदा नेकपा र एमालेले उठाउन सक्ने देखिन्छ । पश्चिम क्षेत्रमा नेकपाले मत बढाउन सक्ने आकलन गरे पनि वीरेन्द्रनगरमा भने मेहनत गर्नुपर्ने छ । 

नेकपाले चुनावी कमान्डर प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विन्दमान विष्टलाई बनाएको छ । उनी जनतामा चिनिएका नेता हुन् भने उनको पहलमा पश्चिममा माओवादीले थुप्रै विकासमा काम गरेको छ । त्यसैले पनि नेकपा उम्मेदवार मल्लले मत तान्न सक्ने आकलन गरिएको छ ।

विगतका निर्वाचन परिणाम यस्तो थियो

सुर्खेतमा कांग्रेस र एमालेबिचको प्रतिस्पर्धाको तीन दशकलाई कोट्याउने हो भने दुवै दलको अवस्था उस्तै देखिन्छ । ०४८ को आम निर्वाचनमा यहाँका २ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । त्यतिबेला क्षेत्र नम्बर बाट पूर्णबहादुर खड्का र २ बाट शिवराज जोशी विजयी भएका थिए । ०४९ को स्थानीय निर्वाचनमा पनि जिल्लामा कांग्रेस नै पहिलो भएको थियो । ५० गाउँपालिका र एउटा नगरपालिकामध्ये ३१ गाउँपालिकाको अध्यक्ष, २९ उपाध्यक्ष र २७३ वडा सदस्य कांग्रेसले जितेको थियो भने एमालेले एक नगरपालिकासहित १८ अध्यक्ष, १९ उपाध्यक्ष र १४५ सदस्य जितेको थियो ।

०५१ को मध्यावधि निर्वाचनमा सुर्खेतमा ३ वटा निर्वाचन क्षेत्र भए । त्यतिवेला कांग्रेसबाट क्षेत्र नम्बर १ मा पुनः खड्का र ३ बाट शिवराज जोशी विजयी हुँदा २ बाट एमाले नेता यामलाल कँडेल विजयी भएका थिए । ०५४ को स्थानीय निर्वाचनमा भने कांग्रेस खुम्चिएको थियो । एमालेले ३७ अध्यक्ष, ३८ उपाध्यक्षसहित ६१.२६ प्रतिशत नतिजा प्राप्त गरेर पहिलो पार्टी बन्दा कांग्रेसले १३ अध्यक्ष र १३ उपाध्यक्ष सहित ३२.३१ प्रतिशतमा सीमित रह्यो ।

०५६ को संसदीय निर्वाचनमा कांग्रेसले पुनः वर्चस्व जमायो । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । जसअनुसार क्षेत्र नम्बर १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र ३ बाट शिवराज जोशी विजयी भएका थिए । ०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने कांग्रेस नराम्रोसँग पराजित भयो । नेकपा माओवादीले क्षेत्र नम्बर ३ मा जित्दा १ र २ एमालेले जितेको थियो । क्षेत्र नम्बर १ मा एमालेका कमला शर्मा र २ मा यामलाल कँडेल विजयी भएका थिए भने ३ मा माओवादीका नरबहादुर विष्ट विजयी भए ।

०७० सालको निर्वाचनमा ३ वटै क्षेत्रमा कांग्रेसले जित हासिल गर्‍यो । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिकासहित ६ वटा स्थानीय तहको नेतृत्वमा कांग्रेस विजयी हुँदा एमालेले तीन वटा पालिकाको नेतृत्व पायो । ०७९ को स्थानीय तहको निर्वाचनमा भने आन्तरिक कारणले कांग्रेसलाई केही घाटा लाग्यो ।

०७४ मा जितेका वीरेन्द्रनगरसहित २ पालिका गुमाएर कांग्रेस ४ वटा पालिकामा सीमित भयो भने एमालेले ४ पालिकाकै नेतृत्व पाएको छ । यस्तै एउटा पालिकाको नेतृत्व भने माओवादीले जितेको छ । सुर्खेतमा २ लाख ४८ हजार ९४३ मतदाता रहेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार