कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले कैलाली क्षेत्र नम्बर ५ बाट भीम रावल, भानुभक्त जोशी र त्रिलोचन भट्ट मध्येलाई उम्मेदवार बनाउने गरी सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । अछामका भीम रावल नेकपाका नेता हुन् । बझाङका जोशी विघटित प्रतिनिधि सभा सदस्य हुन् भने डोटीका त्रिलोचन भट्ट सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री हुन् ।
अघिल्लो पाँच वर्ष उनी पूर्ण कार्यकाल मुख्यमन्त्री रहेका थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा निर्वाचन लड्ने चर्चाकाबिच नेकपाले हेभी वेट नेतालाई ल्याउन उनीहरूको नाममा चर्चा गरिरहेको हो । यस अघि कैलाली ५ का लागि पाँच जनाको नाम निर्वाचन क्षेत्रले टुङ्गो लगाइसकेको छ । तर, हिजो बसेको जिल्लाका पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा रावल , जोशी र भट्टको नामका विषयमा पछि छलफल भएको थियो । ‘पहिलो चरणको सिफारिसमा उहाँहरु (भीम रावल, भानुभक्त जोशी र त्रिलोचन भट्ट) को नाम छैन तर, हिजो नेता कार्यकर्ताहरूले तीनै जनाको नाम ल्याउनु भएको छ’ साबिक माओवादीका जिल्ला अध्यक्ष लाजुराम चौधरीले भने, ‘आज हामीले यस विषयमा छलफल गर्छौ । ’
आज उम्मेदवार सिफारिस संयन्त्रको बैठक बस्दै छ । उक्त बैठकले कैलाली जिल्लामा पाँच वटै निर्वाचन क्षेत्रबाट पाँच पाँच जनाको नाम सिफारिस गर्ने छ । केन्द्रीय निर्देशन अनुसार जेनजी, महिला, दलित र खस आर्य समेटिने गरी पाँच जनाको नाम सिफारिस गर्ने तयारी छ। उम्मेदवार आकाङ्क्षीहरूले नाम सिफारिस गर्दा १ हजार पाँच सय रुपैयाँ बुझाउनु पर्ने मापदण्ड बनाइएको छ । हिजो नेताहरूले ल्याएका नामहरूका विषयमा आज छलफल हुने र मापदण्ड पुरा गरेका अवस्थामा सिफारिस गरिने उनले बताए ।
यसअघि एकीकरण पूर्वका क्षेत्रीय कमिटीको संयुक्त बैठकले बिहीबार ५ जनाको नाम सिफारिस गरेको थियो । निर्मल शाह, प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम जिल्लामा पठाइएको छ । अब भीम रावल, भानुभक्त जोशी र त्रिलोचन भट्टको नाम कैलाली ५ बाट सिफारिस गर्ने नगर्न भन्ने विषयमा आज टुङ्गो लाग्ने छ । कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । ५ क्षेत्रबाट २५ जनाको नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म जिल्लामा ६५ जनाको नाम आएको छ । १२ जना समानुपातिक सिफारिस गर्नुपर्नेमा ८० जनासम्मको नाम आएको छ । आज संयन्त्रले नामहरू संशोधन गरेर प्रदेश हुँदै केन्द्रमा पठाउने तयारी गरिएको छ ।
संयन्त्रमा नेप बहादुर चौधरी ,लाजुराम चौधरी, दीर्घ सोडारी, खडक रावल, कृष्णराज सुबेदी र मीनराज बडू रहेका छन् । यहाँबाट कांग्रेसले यसअघि नै ४ जनाको नाम सिफारिस गरिसकेको छ । नेतृ आरजु राणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्व मेयर नृपबहादुर ओड र विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय समितिमा सिफारिस भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्