धनगढी । यतिबेला कैलाली, कञ्चनपुर लगायतका जिल्लामा मलको बेस्सरी अभाव छ । हुन त यो सिजनमा मलको अभाव भएको यो पहिलो पटक भने होइन । विगतका वर्षहरुमा पनि मलको अभाव यस्तै हुनेगर्थ्यो ।
तर यसपालि अवस्था झनै बेहाल छ । विगतका वर्षहरुमा मलको अभाव भए पनि फ्याट्टफुट्ट किसानहरुले मलको जोहो गर्दै आएका थिए । तर यो वर्ष मल नपाउँदा किसानहरु ठूलो समस्यामा परेका छन् ।
त्यसो त किसानका लागि साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीले मल वितरण गर्छन् । तर यहाँबाट किसानहरुले सोझै मल पाउँदैनन् । साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीले नगरपालिका र वडामा भएका सहकारीमार्फत किसानलाई मल वितरण गर्दै आएका छन् । तर किसानहरुले भने मल पाउनु त टाढाको कुरा मलको बोरासमेत देख्न नपाएको गुनासो गरेका छन् ।
‘सहकारीले मल लिएर आयो भन्ने खबर पाएका छौँ । मल पाइन्छ भनेरै रातीदेखि लाइनमा बसेका छौँ । तर मल पाएको छैन’, भजनी नगरपालिकाका एक किसानले भने, ‘एक बोरा मलका लागि दुई रात सडकमै बसेर बिताइसक्यौँ । तर मल पाइएन ।’
अहिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टिकापुर नगरपालिकामा किसानहरु रातभरी सहकारी संस्थामा मलको लागि लाइन लाग्ने गरेका छन् ।
दुईदुई रात चिसोमा सडकमै बिताउँदा पनि मल नपाएपछि अहिले किसानहरु चिन्तामा छन् । मल चाहिने बेलामै मल नपाएपछि बाली नसप्रिने डरले सताउने किसानहरु बताउँछन् । उनीहरुले मल अभावको समस्याले कृषि पेशा नै छोड्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्