काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा शनिबार बिहान तन्नामा पोको पारिएको अवस्थामा फेला परेको युवतीको शवको रहस्य प्रहरीले सुल्झाएको छ । घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार बिहान सडिसकेको अवस्थामा बेवारिसे शव फेला परेको थियो । शवको अवस्थाका कारण सुरुमा मृतकको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको थियो । तर, प्रहरीको सुक्ष्म अनुसन्धानपछि मृतक र हत्या आरोपी दुवैको पहिचान खुलेको हो ।
प्रहरी स्रोतका अनुसार मृतक रुकुम घर भएकी अन्दाजी २० वर्षीया ‘माया’ भनिने आयुषा मगर हुन् । उनको हत्या अभियोगमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सूर्य बसपार्क क्षेत्रकै एक होटलमा ‘कुक’ को रूपमा कार्यरत रहेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपीबीच पूर्व चिनजान रहेको पाइएको छ । प्रहरीका अनुसार यो हत्याका पछाडि लागुऔषधको विषय जोडिएको छ । लागुऔषध लेनदेन वा सेवनको विषयमा विवाद हुँदा यो जघन्य अपराध भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ ।
घटनाको विस्तृत विवरण र अनुसन्धानका अन्य तथ्यहरू सार्वजनिक गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।





प्रतिक्रिया दिनुहोस्