काठमाडौँ — आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट बुधबार ओमानमा सुरु हुँदा नेपालले कुवेतको सामना गर्नेछ । ९ राष्ट्र सहभागी यस प्रतियोगिताको शीर्ष ३ टोलीले फेब्रुअरी–मार्चमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छ । विश्वकप भारत र श्रीलंकामा आयोजना हुनेछ ।
नेपाल र कुवेत समावेश ‘बी’ को अर्को टोली जापान हो । समूह ‘ए’ मा मलेसिया, कतार यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोओ छन् । समूहका शीर्ष २ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एकै समूहबाट गएका टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छैन ।
त्यसबाहेक शीर्ष चार टोलीसँग खेलेपछि शीर्ष तीन टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान पाउनेछ । यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको हो । जसले गर्दा जापान, सामोओ र पपुवा न्युगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन् । पहिलो दिन नेपाल र कुवेतसँगै ओमान र सामोओ तथा कतार र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ । तर, कुवेत यही टोली हो, जोसँग नेपाल अप्रिलमा हङकङसँग चार राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा ३ रनले पराजित भएको थियो । हङकङको सानो मैदानमा कुवेतले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो । बसिर अहमद र नन्दन यादवको साहसी इनिङ्सका बावजुद नेपाल १९.३ ओभरमा १ सय ७१ रनमै रोकिएको थियो । त्यसै प्रतियोगिताको राउन्ड रोबिनको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको आरामदायी जित निकालेको थियो ।
त्यसयता नेपाली टोलीमा ठूलो परिवर्तन आइसकेको छ । टोलीको प्रशिक्षण जिम्मा अस्ट्रेलियाका स्टुवार्ट लको काँधमा छ । उनको प्रशिक्षणमा नेपालले उच्च प्रर्दशन गर्दै आएको छ । विश्वकप लिग २ मा नेपालको प्रदर्शन कमजोर बनिरहँदा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट संकटमा परेको थियो । तर, स्टुवार्टको प्रशिक्षणमा नेपालले स्कटल्यान्डको डन्डीमा नेदरल्यान्ड्ससम्मिलित लिग २ को चारमध्ये ३ खेल जितेको थियो । लगत्तै ग्लास्गोमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा एसोसिएट क्षेत्रको बलियो टोली नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पराजित गरेको थियो ।
नेपालले अझ यूएईको शारजहाँमा ४–५ प्रमुख खेलाडीबिनै आएको वेस्ट इन्डिजलाई तीन ट्वान्टी–२० खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो । त्यसैले नेपाल मस्कटमा उच्च मनोबलसहित उत्रने निश्चित छ । नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेट र दोस्रो खेलमा कतारलाई १६ रनले हराएको स्थिति छ । कतारविरुद्ध ओपनर कुशल भुर्तेलले आफ्नै शैलीमा अर्धशतक बनाए, जुन नेपाली टोलीका लागि सकारात्मक पक्ष रह्यो ।
वेस्ट इन्डिजसँगको शृंखलामा आफ्नो लेग स्पिन बलिङ र फिल्डिङबाट प्लेयर अफ द सिरिजमा चुनिए पनि भुर्तेलको ब्याट राम्रोसँग चल्न सकिरहेको थिएन । आसिफले ओमानविरुद्धको अभ्यास खेलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले पनि आफ्नो पुनरागमनमा राम्रो ब्याटिङ गरिरहेकाले नेपाली टोलीको ब्याटिङ थप बलियो बन्न पुगेको छ ।
कुवेतले पनि ओमानमा आफ्नो एकमात्र अभ्यास खेलमा कतारमाथि ३४ रनको विजय नतिजा निकालेको थियो । त्यसक्रममा टोलीले १ सय ८४ रन बनाएको थियो । क्लिन्टो एन्टोले २७ बलमै ६३ र मित भवसारले ४८ बलमा ६५ रन बनाएका थिए । यसले पनि कुवेतको ब्याटिङ ट्वान्टी–२० संरचनाका लागि सुहाउँदो देखाउँछ । एसिया क्षेत्रको क्षेत्रीय छनोट ‘ए’ बाट मलेसिया र कुवेतले छनोट चरण पार गरेका थिए ।
तर, हङकङ भ्रमणपछि कुवेतले खासै ट्वान्टी–२० क्रिकेट खेलेको छैन । ओमानमा गएर ओमानसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा कुवेत दुवै खेलमा समान ५ विकेटले पराजित भएको थियो । यो अवस्थामा नेपालका लागि अनुभव निकै महत्त्वपूर्ण हुनेछ ।
कुवेतपछि नेपालले शुक्रबार जापानसँग खेल्ने छ । कुवेत र जापानको खेल बिहीबार नै हुनेछ । नेपाललाई ओमानको पछिल्लो भ्रमण खासै सम्झनुपर्ने कारण छैन । सन् २०२२ मा ओमानमा भएको ग्लोबल छनोटमा समूह चरणका सबै तीन खेल जितेपछि सेमिफाइनलमा यूएईसँग पराजित भएर ट्वान्टी–२० विश्वकपमा पुग्न असफल रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्