धनगढी : बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको शुभारम्भ गरेका हुन् । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै कार्यक्रम सुरु गरे ।
उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए ।
मन्त्री पौडेलले भने, स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित कार्यक्रम हो।यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा योगदान पुग्छ ।रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्ने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको प्राथमिकता हो।आगामी पुस्ता निरोगी बनाउने हाम्रो लक्ष्यअनुरूप यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।
के हो स्वर्ण बिन्दु प्राशन:आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.श्यामबाबु यादवका अनुसार स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो ।
यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन्।यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ।
त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ।शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो, जसले संक्रमणबाट बचाउँछ।यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्छ।
आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ।
यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ।यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो।
स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर गुण, ब्राह्मीको ‘न्युरो-प्रोटेक्टिभ क्षमता र महको प्राकृतिक ‘एन्टी-माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।
विभागले यसको सुरक्षित र सही कार्यान्वयनका लागि देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई तालिम दिई एकरूपता कायम गर्नेछ,उनले भने ।
गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो।निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ।
यससँगै मातृ-शिशु स्वास्थ्य प्रबर्द्धनलाई पनि जोडिएको छ।यसैगरी, स्वास्थ्य मन्त्रालयल,आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख डा.पुष्पराज पौडेलका अनुसार आधुनिक वैज्ञानिक दृष्टिकोणबाट ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत नानो-मेडिसिन र न्युरो-इम्युनोमोडुलेटर फर्मुलेसन हो।
यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन नभई विशेष प्रशोधन विधिबाट तयार पारिएको नानो कण हो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलनमा राख्ने क्षमता राख्छ।
डा.पौडेलले ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीहरूमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने बताए।स्वर्ण बिन्दु प्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्