अत्तरिया– मोहना अत्तरिया ६ लेन सडकको गोदावरी खण्डमा स्ट्रिट लाइट जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले सम्झौता गरेको करिब अढाई वर्ष पछि सुरु भएको निर्माण कार्य बल्ल अन्तिम चरणमा पुगेको हो ।
सो क्षेत्रमा तारहरू तानेर पोल ठड्याउने काम भइरहेको छ । निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रा।लि।का इन्जिनियर रबिन महतोले तार तान्ने काम सकिएर पोल ठड्याउने काम भइरहेको बताए । उनले साउनको अन्तिम सम्म जडान सहितका अन्य कामहरू सकेर भदौ पहिलो हप्तादेखि बत्ती बाल्ने योजना रहेको बताए । ‘साउनको अन्तिम सम्म पोल ठड्याउने, कनेक्सन मिलाउने, सफ्टवेयर सेट अप लगायतका कामहरू सक्ने गरी काम गरिरहेका छौ’ उनले भने ‘त्यति भरसकेपछि भदौ पहिलो हप्ता हामीले बत्ती बाल्ने छौ ।’ उनले अन्डरग्राउण्डीङ तार जडान गर्नुपर्ने र कनेक्सन पनि मिलाउनुपर्ने भएकाले केही समय लाग्न सक्ने बताए ।
उनले बत्तीको कन्ट्रोल बक्स पनि फिट गर्न बाँकी रहेको बताए । उनले आफूहरूले गरेको सम्झौता अवधि भन्दा छिटो काम सक्ने गरी काम धमाधम भइरहेको बताए । ‘त्यसो त हाम्रो सम्झौता अनुसार ६ महिना अझै बाँकी छ’ उनले भने ‘तर हामीले सम्झौता अवधि भन्दा चाँडो काम सक्काउने लक्ष्य लिएका छौ ।’ उनका अनुसार नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना काठमाण्डौसँग अक्टोबर २०२४ मा सडक बत्ती जडानका लागि सम्झौता भएको छ । जसको अवधि एक वर्षको रहेको उनले बताए ।

इन्जिनियर महताले सडक बत्तीका पोलहरू आयोजना कार्यालयले दिनुपर्ने र बाँकी कार्य कम्पनीले गर्ने गरी आयोजना कार्यालयसँग सम्झौता भएको बताए । उनले आयोजना कार्यालयले सम्झौता गरेको करिब ६ महिनासम्म पनि पोल नदिँदा काममा ढिलाइ भएको बताए । ‘हामीले काम सुरु गर्नका लागि पहिला पोल चाहिन्छ, त्यो हामीलाई प्राधिकरणले दिने कुरा हो’ उनले भने ‘हामीलाई विद्युतले सम्झौता भएको करिब ६ महिनापछि पोल दिनुभयो, त्यसैले जडानमा पनि ढिला भयो ।’ उनले आफूहरूले वैशाख अन्तिमतिर पोलहरू पाएको र त्यसपछि जडानको काम सुरु गरेको बताए ।

सम्झौता अनुसार आफूहरूले फिलिप्स कम्पनीका बल्बहरू ल्याएको बताउँदै उनले उक्त बल्बहरू आधुनिक प्रविधिको स्मार्ट बल्बहरू रहेको बताए । ‘अहिलेका बल्बहरू पनि आधुनिक प्रविधिका छन्’ उनले भने ‘हामीले जस्तो १०० वाटको बल्ब बाले त्यो बिहान सम्म १०० वाटमै बल्छ, जसले गर्दा विद्युत् बढी खपत हुन्छ’ उनले भने ‘तर यी बल्बहरू हामीले उज्यालो बढी चाहिएको समयमा बढी र कम चाहिएको समयमा कम बाल्न सक्छौ, त्यो कार्य सफ्टवेयर बाट हुन्छ ।’
उनका अनुसार एउटा पोलमा दुवै साइडतिर १२० वाटका दुई ओटा बल्बहरू रहनेछन् । ती बल्बहरू बाल्ने सिस्टम पनि फरक रहेको उनले बताए । ‘यसमा टाइमर र सेन्सर हुँदैन, यो अनलाइन सिस्टमको हुन्छ’ उनले भने ‘बत्तीको एउटा कन्ट्रोल बक्स हुन्छ, जुन सिमबाट कन्ट्रोल हुन्छ, त्यसमा लगइनका लागि पासवर्ड हुन्छ, त्यो भरसकेपछि बत्तीलाई अटोमेटिक सेट गर्न मिल्छ ।’ उनका अनुसार सूर्य उदाउने र अस्ताउने क्याल्कुलेसन सफ्टवेयरले आफै गर्ने गर्दछ । जेठ अन्तिम सातादेखि सुरु भएको निर्माण कार्य विविध कारणले गर्दा केही ढिला हुन गएको उनको भनाई छ । ‘पानी आउने तथा फाउन्डेसन बनाउने लगायतका कारणले सुरुवातमा केही ढिलाइ भयो’ उनले भने ‘अब त्यही १०÷१२ दिन जतिको समयमा सबै काम सकिन्छ होला ।’
नगरपालिकाको २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५।७ किलोमिटर ६ लेन सडकमा सडक बत्ती जडान गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्नका लागि नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना काठमाण्डौसँग लागत साझेदारी गरेको छ । सडक बत्ती जडानका लागि ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत सडक बत्ती प्रवर्द्धन आयोजना कार्यालयको रहने सम्झौता भएको छ ।
नगरले सम्झौता गरेको क्षेत्रसम्म १८३ वटा पोलहरू लागेका छन् । जसमध्ये अत्तरिया बजारदेखि मनेहरा पुलसम्म ९६ वटा पोलहरू राखिएको छ भने मनेहरापुलदेखि गेटा ट्राफिक पोस्टसम्म २३ वटा पोलहरू राखिएको छ । त्यसपछि नगरको क्षेत्रसम्म ६४ वटा पोलहरू राखिएको छ । सम्झौता अनुसार नगरपालिकाले सडक बत्ती जडानका लागि २ चरणमा गरेर १ करोड ९६ लाख ५६ हजार ४ सय रुपैयाँ भुक्तान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्