पोखरा : पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो। कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए।
कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ। उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो। पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका विरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएको थियो,’ महानिर्देशक खड्काले भने ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो। गण्डकीमा देखिएका संक्रमितमा कोभिड–१९ पुष्टि भएको निर्देशनलयले जनाएको छ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्