दार्चुलाको छाङरु र तिंकर आवतजावत गर्ने बाटो निर्माण कार्यको अन्तिम चरणमा

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाको छाङरु र तिंकर पुग्न अब भारतको बाटो प्रयोग गर्ने बाध्यता हट्ने भएको छ। छाङरु र तिंकर आवतजावत गर्ने बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेपछि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो।

छाङरु र तिंकरमा करीब दुई सय घरपरिवारको बसोबास छ । स्थानीयहरु हिउँदको समयमा खलंगा सर्ने र बर्खाको समयमा व्याँस फर्कने गरेका छन्। यो समयमा उनीहरुले अहिलेसम्म भारतीय बाटोको प्रयोग गर्दै आएका थिए। अब नेपालकै बाटो भएर आउजाउ गर्न पाइने सम्भावना बढेको छ। पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्यासवासीको बाध्यता अन्त्य गर्न बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए। बाटो निर्माण कार्य तीव्र रुपमा भइरहेकाले खुसी लागेका स्थानीय बासिन्दाहरुले बताएका छन्।

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङरुसम्म पुग्नका लागि घोरेटो बाटो निर्माण भइरहेको छ । व्याँस गाउँपालिका –२, दुम्लिङदेखि व्याँस गाउँपालिका –१, छाङरुसम्म निर्माणाधीन घोरेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ । देशकै दुर्गम छाङरु र तिङ्करगाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठबाट निर्माण शुरु गरिएको सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए ।

हाल बाटो निर्माणका लागि पाँच वटा समूहमा विभाजन गरेर १३० जनासम्म मजदुर निर्माण कार्यमा खटिएका छन्। विशेष गरेर अत्यन्तै अप्ठ्यारो र पूर्ण रूपमा बाटो नभएका स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको पालले बताए।

महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले दिनभर काम गरिरहेको काममा खटिएका जनक धामीले बताए। सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भीर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको र एक/दुई दिनमै पूर्ण रूपमा बाटो बन्ने उनले बताए। छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि सङ्घीय सरकारले व्याँस गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो।

प्राप्त बजेटसँग थप श्रम अभियान जोडेर वैशाखमा कुञ्चा सर्नुभन्दा पहिले नै सो बाटो खुलाउने प्रयास गरिएको भए पनि कानुनी अड्चन आउन सक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको हो। हालसम्म माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेलगायतका क्षेत्रमा काम पूरा भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको निर्माण व्यवसायी पालले बताए।

गाउँपालिका र मिसन–देवहरि जेभीबिच पाँच करोड छ लाख नौ हजार ९९४ रुपैयाँ बाटो निर्माणका लागि सम्झौता भएको छ। जोखिमपूर्ण बाटोमा आसलाग्दो ढङ्गले काम भइरहेको भन्दै गाउँबाटै सदरमुकाम आवतजावत गर्न पाइनेमा व्यासवासी आशावादी बनेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार