एजेन्सी : रुसले दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई युक्रेनविरुद्धको युद्धमा सहभागी गराउन खोजेको दाबी युक्रेनको सैन्य गुप्तचर निकायले गरेको छ ।
द कीभ इन्डिपेन्डेन्टले दिएको खबरअनुसार, मस्कोले लाओ पिपुल्स आर्म्ड फोर्सेसका सैन्य इन्जिनियरहरूलाई रुसको कुर्स्क क्षेत्रमा तैनाथ गर्ने योजना बनाएको छ । त्यहाँ बारुदी सुरुङहरू निष्क्रिय बनाउनका लागि लाओसका इन्जिनियरहरूले मद्दत गर्नेछन् ।
युक्रेनले रुसको कुर्स्क क्षेत्रको १३ सय वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो । तर, रुसले प्रत्याक्रमण गरी उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा पारेको छ । उसलाई उत्तर कोरियाली सेनाले त्यसमा सहयोग गरेका थिए ।
लाओसका अधिकारीहरूले रुसको सहायताका लागि ५० जना इन्जिनियर पठाउने बताइएको छ । त्यसबाहेक लाओसले घाइते रुसी सैनिकहरूलाई पुनःस्थापना सेवा पनि दिनेछ ।
शीतयुद्धको बेलामा सन् १९६४ देखि १९७३ सम्म अमेरिकाले भियतनामविरुद्ध चलाएको सैन्य कारवाहीका क्रममा कम्युनिस्ट सप्लाई लाइनलाई ध्वस्त पार्नका लागि लाओसमा लाखौं बम खसाएको थियो । तीमध्ये कतिपय बम अझै पनि लाओसमा छन् र विस्फोट नभई बसेका छन् । यदाकदा बम विस्फोट भएर सर्वसाधारण घाइते हुने वा ज्यान जाने भएको छ । युद्ध अन्त्य भएपछि अहिलेसम्म त्यसले २० हजारजनाको ज्यान लिइसकेको र तीमध्ये अधिकांश बालबालिका भएको बताइन्छ ।
लाओसका सैन्य इन्जिनियरहरूले विस्फोट नभएका धेरै बमहरूलाई निष्क्रिय बनाएका छन् । त्यस अनुभवले कुर्स्कमा बारुदी सुरुङ निष्क्रिय बनाउन सहयोग गर्न सक्छ भनेर रुसले उनीहरूलाई ल्याएको हुन सक्छ ।
रुसले एसिया र अफ्रिकाका सैनिक तथा लडाकूहरूलाई युक्रेनविरुद्धको युद्धमा उपयोग गर्ने गरेको छ । रुसी सञ्चारमाध्यम इम्पोर्टेन्ट स्टोरीजले ४८ देशका १५ सय विदेशी लडाकूहरूले रुसका लागि युद्ध लडिरहेको खबर दिएको छ ।
प्रतिक्रिया दनुहोस्