डोटी — एउटै नगरपालिका, एउटै परीक्षा तर नतिजा आकाश–जमिनको फरक। यसपालि डोटी जिल्लाको शिखर नगरपालिका एसईई नतिजामा चर्चा र विवाद दुवैमा छ।
राधाकृष्ण मावि, गोपघाटका निरंजन बलयरले ३.९२ जीपीए ल्याउँदै डोटी जिल्लाकै पहिलो हुने इतिहास रचे। यस्तै केदारेश्वर मावि, शिखर–१ का विद्यार्थीले ३.९० जीपीए ल्याएर दोस्रो स्थानमा नाम लेखाए। यिनले देखाए– गाउँमै पढेर पनि राम्रो गर्न सकिन्छ।
शिखरकै सिताराम माविले ९१ प्रतिशत विद्यार्थीलाई पास गराउन सफल भयो। शिक्षा क्षेत्रमा संघर्षरत सामुदायिक विद्यालयका लागि यो नतिजा गर्वको विषय बनेको छ।
तर अर्को पाटो हेर्दा लाटामाण्डु माविको नतिजाले सबैलाई स्तब्ध बनायो। यो विद्यालयबाट परीक्षा दिएका कुनै पनि विद्यार्थी पास भएनन्। शून्य प्रतिशत सफलता दरले धेरै प्रश्न खडा गरिदिएको छ – के यो शिक्षण पद्धतिको कमजोरी हो, कि व्यवस्थापनको लापरबाही?
यसपालि डोटी जिल्लाबाट २,९१४ विद्यार्थी एसईईमा सहभागी भए, तर ३६.८२ प्रतिशत मात्रै पास हुन सके। थुप्रै विद्यालय र शिक्षकको भूमिकामाथि औंला उठिरहेको छ।
शिखरकै दुई विद्यालयको उदाहरणले सिकाउँछ – इच्छाशक्ति र जिम्मेवारी भए गाउँका विद्यालयले पनि असाधारण सफलता हासिल गर्न सक्छन्। तर कहीँ न कहीँ कमजोरीले विद्यार्थीको भविष्य अध्यारो बनाइरहेको छ।
कसको लापरबाही? कुन तहको कमजोरी? अब गम्भीर छलफल र सुधारको आवश्यकता छ।
प्रतिक्रिया दनुहोस्