धनगढी – राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सार्वजनिक गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजामा धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयले ऐतिहासिक सफलता हात पारेको छ।
कुल १८७ जना विद्यार्थीले परीक्षा दिएको यस विद्यालयमा १७४ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। १३ जना विद्यार्थी नन-ग्रेडेड भए पनि बाँकी अधिकांश विद्यार्थीले उल्लेखनीय ग्रेड हासिल गरेका छन्।
विद्यालयका तथ्यांक अनुसार ३२ विद्यार्थीले ३.६ देखि ४.० सम्मको GPA ल्याएका छन्। यस्तै ७२ विद्यार्थीले ३.२ देखि ३.६, ५९ विद्यार्थीले २.८ देखि ३.२ र ११ विद्यार्थीले २.४ देखि २.८ को GPA हासिल गरेका छन्।
विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले यो नतिजालाई पञ्चोदयको परिश्रम, विद्यार्थीको लगन र अभिभावकको सहयोगको नतिजा मानेका छन्। उनीहरूका अनुसार “सरकारी विद्यालय कमजोर हुन्छन्” भन्ने धारणा चिर्न यो सफलता माइलखुट्टे सावित भएको छ।
हालका वर्षहरूमा कतिपय निजी विद्यालयहरूले १० जना मात्र विद्यार्थी परीक्षामा सहभागी गराएर ८ जना पास भएको आधारमा ८० प्रतिशतको प्रचार गर्दै आएका छन्। तर पञ्चोदयले १८६ विद्यार्थीमध्ये १७४ जनालाई पास गराउँदै निजी स्कुलहरूको प्रचारलाई सशक्त चुनौती दिएको छ।
विद्यालय प्रशासनले कमजोर नतिजा ल्याएका विद्यार्थीका लागि सुधारात्मक कक्षा र विशेष परामर्श कार्यक्रम सञ्चालन गर्ने बताएको छ। साथै यो उपलब्धिले सरकारी विद्यालयप्रतिको आम जनताको भरोसा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दनुहोस्