कञ्चनपुर — आकर्षक रोजगारीको प्रलोभनमा भारत पुर्याइएका ५८ नेपाली युवाहरूलाई बन्धनमुक्त गराउँदै बुधबार नेपाल फर्काइएको छ। भारतको उत्तराखण्ड राज्य अन्तर्गत उधमसिंह नगर जिल्लाको रुद्रपुर र कासिपुर क्षेत्रमा बन्धक बनाइएका ती युवाहरूलाई गड्डाचौकी नाकाबाट नेपाल ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी जम्मा ५८ जना नेपाली युवा बन्धक अवस्थामा थिए। रोजगारीको आशामा भारत पुर्याइएका उनीहरूलाई घर–घरमा राखी जबरजस्ती काम गराउने प्रयास गरिएको थियो।
उद्धार कार्यमा नागरिक संस्था किन नेपाल, किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा ठूलो भूमिका खेलेको थियो। उनीहरूलाई बसमार्फत गड्डाचौकी नाकामा ल्याइएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरे।
उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना रहेका छन् भने बाँकी चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम, बागलुङ, इलाम, रुपन्देही लगायतका विभिन्न जिल्लाका छन्।
सुरक्षा निकायले यस्ता मानव तस्करीका घटनाविरुद्ध सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, रोजगारीका नाममा हुने यस्ता फन्दा र दलालहरूको गतिविधिमाथि निगरानी बढाइएको समेत जनाइएको छ।
प्रतिक्रिया दनुहोस्