नयाँदिल्ली : भारत–पाकिस्तान द्वन्द्वका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारबाट सुचारु भएको छ । आईपीएल स्थगित भएलगत्तै स्वदेश फर्किएका अधिकांश विदेशी खेलाडी भारत फर्किसकेका छन् भने कोही फर्किने तरखरमा छन् ।
तर, केही खेलाडीले भने भारत फर्किन इन्कार गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार जोफरा आर्चर, ज्याक फ्रेजर, साम करण, मोइन अली र मिचेल स्टार्कले आईपीएलका बाँकी खेल खेल्ने छैनन् ।
भारत फर्किन इन्कार गर्ने विदेशी खेलाडीमध्येका एक हुन्, जोफरा आर्चर । राजस्थान रोयल्सका आर्चर १२.५० भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध भएका थिए । राजस्थान प्लेअफ होडबाट बाहिरिसकेकाले पनि उनले भारत फर्किन इन्कार गरेको बुझिएको छ ।
यसैगरी दिल्ली क्यापिटल्सका ज्याक फ्रेजरले पनि आईपीएलका बाँकी खेलका लागि भारत आउन इन्कार गरेका छन् । उनी दिल्लीका महत्वपूर्ण खेलाडी हुन् । उनी नआएपछि दिल्लीको ब्याटिङ लाइनअप कमजोर हुने आँकलन गरिएको छ । उनलाई दिल्लीले नौ करोड भारुमा किनेको थियो ।
चेन्नई सुपर किङ्स अलराउन्डर साम करणले पनि भारत फर्किन इन्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई टोलीमा जोडिन चेन्नई सुपर किङ्सले पटक पटक आग्रह गरे पनि टोली प्लेअफ होडबाट बाहिरिसकेकाले उनले इन्कार गर्दै आएको जनाइएको छ ।
उनलाई चेन्नईले २.४ करोड भारुमा किनेको थियो । भारत आउन नमान्ने अर्का खेलाडी हुन्, मोइन अली । कोलकाता नाइट राइडर्सका स्टार खेलाडी अलीले पनि भारत फर्किन इन्कार गरेको जनाइएको छ । उनलाई कोलकाताले दुई करोड भारुमा खरिद गरेको थियो ।
यसैगरी दिल्ली क्यापिटल्सका अर्का स्टार खेलाडीले पनि भारत फर्किन इन्कार गरेका छन् । उनी हुन्, अस्ट्रेलियाका मिचेल स्टार्क । दिल्लीका तीव्र गतिका बलर स्टार्कले आईपीएलका बाँकी खेल खेल्न इन्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीले उनलाई ११.५७ करोड भारुमा खरिद गरेको थियो ।
सुरुवातमा प्रभावशाली प्रदर्शन गरेको दिल्ली प्लेअफमा स्थान बनाउन संघर्षरत छ । दिल्लीको बाँकी रहेका तीन वटै खेल महत्वपूर्ण मानिएको छ । एउटा खेल हारेमा पनि प्लेअफ होडबाट बाहिरिन सक्ने अवस्था छ । यस्तोमा आफ्ना स्टार खेलाडी नआएपछि दिल्ली गम्भीर संकटमा परेको छ ।
प्रतिक्रिया दनुहोस्