धनगढी : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी दुवै पक्षलाई काठमाण्डौ बोलाएका छन । लामो समयदेखी विवादमा रहेको सो समस्या सुल्झाउन बुधबार प्रचण्डले दुवै पक्षलाई खुमलटार बोलाएका हुन ।
२०८० फागुनमा संसदीय दलको नेताबाट नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेका थिए । तर अध्यक्ष प्रचण्डले सहमतिमै विवाद समाधान गर्न र भट्टलाई दलको नेता बनाउन पटक पटक दिएको निर्देशन पालना भएको छैन । यद्यपि बुधबारको बैठक निष्कर्षमा पुग्नेमा आफू सकारात्मक रहेको भट्टले बताए । ‘विवाद समाधानका लागि अध्यक्षले नै बोलाउनुभएको छ । यसबिचमा हाम्रो भेट भएको छ । उहाँले समस्या समाधान हुन्छ भन्नुभएको छ । अहिलेलाई सकारात्मक रूपमा बुझौँ’, उनले भने ।
यसअघि दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर कार्यान्वयन नभएपछि यसअघि प्रचण्डले संसदीय दललाई फागुन १४ गते खुमलटार बोलाएका थिए । फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन उनी काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको थियो । भट्ट पक्षधरले पटक पटक केन्द्रको निर्देशन वर्तमान संसदीय दलका नेता धामीले उल्लङ्घन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए । धामी पक्षका सांसदहरू प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए ।
धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख रहेका छन् ।
विवाद मिलाउनका लागि गत फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । जागरण अभियान सुदूरपश्चिम प्रवेश गर्नुअघि नै विवाद साधनका लागि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाए । सुदूरपश्चिमको डडेलधुरास्थित जोगबुढामा भएको कार्यक्रममा सहभागी हुन गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास समेत असफल भएको थियो । त्यसअघि तीन पटक पार्टीले सर्कुलर र अध्यक्ष प्रचण्डले निर्देशन दिए पनि सफल हुन सकेको छैन ।
प्रतिक्रिया दनुहोस्