बैतडी : बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालयले सतबाँझमा शुक्रबार ‘ट्याक्टर बहस’सञ्चालन गरेको हो। प्रदेश प्रहरी कार्यालयले प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याइएको उनले बताए। यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिइएको प्रहरी निरीक्षक बडूले बताए। उनले भने, ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालनमा ल्याएका हौं।
ग्रामीण क्षेत्रमा धेरैजसो ट्याक्टर दुर्घटना हुने भएकाले हामीले यसलाई ट्याक्टर बहस नाम दिएका छौं।’ट्याक्टरलाई व्यापारिक प्रयोजन र विभिन्न वस्तुहरुको ढुवानीका लागि प्रयोग गर्नुपर्ने भएपनि यात्रुहरु समेत बोक्ने गरेको पाइएकाले बहसको नाम नै ट्याक्टर बहस राखिएको प्रहरी निरीक्षक बडूले बताए। बहसमा सवारी साधन सञ्चालन ऐन लगायतका बिषयमा जानकारी गराइएको उनले बताए।
अधिकांश ग्रामीण क्षेत्रमा ट्याक्टर चालकहरुले लाइसेन्स बिना चलाउने गरेको पाइएकाले त्यसो नगर्न बहसमा सचेत गराइएको उनले बताए। यस्तै अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ। क्षमताभन्दा बढी लोड नबोक्न आग्रह गर्नुका साथै ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने बिषयमा समेत सचेत गराइएको प्रहरी निरीक्षक बडूले बताए। यसका साथै अन्य सवारी दुर्घटना न्यूनीकरणका बिषयमा स्थानीय नागरिकहरुसंग छलफल गरिएको छ। ग्रामीण इलाका सवारी दुर्घटना बढी हुने भएकाले ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको प्रहरी निरीक्षक बडूले बताए।
प्रतिक्रिया दनुहोस्