कैलाली : नेकपा एमाले सुदूरपश्चिम र प्रदेश संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रमा केपी शर्मा ओलीनिकट नै रहेका नेताहरू प्रदेशमा एकअर्काको अस्तित्व स्वीकार गर्न तयार नभएपछि विवाद उत्कर्षमा पुगेको हो ।
माओवादी केन्द्रबाट आएका सचिव लेखराज भट्ट एमाले सुदूरपश्चिमको इञ्चार्ज छन् । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका राजेन्द्रसिंह रावल प्रदेश संसदीय दलको नेता छन् । उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री पनि हुन् । भट्ट र रावल नै एकअर्काको अस्तित्व स्वीकार गर्न तयार नभएपछि संसदील दल मात्र नभएर पार्टीभित्रै विवाद बढेको छ ।
आफूलाई अहिले पनि माओवादीकै ट्याग लगाइरहेको, इञ्चार्ज मान्न अस्वीकार गरेको, राजनीतिक नियुक्तिमा छलफल नै नगरी एकलौटी गरेको, आफूमाथि पटक-पटक आक्रमणको प्रयास गरेको र पार्टीलाई क्षति पुग्ने किसिमको गतिविधि गरेको भन्दै प्रदेश इञ्चार्ज भट्ट दलको नेताबाट रावललाई हटाउने कसरतमा जुटेका छन् । त्यसमा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा र कैलाली इञ्चार्ज नारदमुनि रानाले पनि साथ दिएका छन् ।
लेखराज र नारदमुनिले त पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै दल नेताबाट तत्काल रावललाई हटाउनुपर्ने माग गरेका छन् । ‘रावलका विवादित गतिविधिले पार्टीलाई नै क्षति भइरहेको छ,’ एमाले सुदूरपश्चिमका एक नेताका अनुसार ओलीसँगको भेटमा भनिएको थियो, ‘त्यसैले रावललाई तत्काल जिम्मेवारीबाट मुक्त गर्नु नै ठीक हुन्छ ।’
सुदूरपश्चिम प्रदेशमा भइरहेको राजनीतिक नियुक्तिले प्रदेश इञ्चार्ज भट्ट र प्रदेश दलका नेता रावलबीच विवाद बढेको एमालेभित्र चर्चा हुन्छ । सुदूरपश्चिमको नीति तथा योजना आयोगमा एमाले र कांग्रेसबीच भागवन्डा हुँदा उपाध्यक्ष र दुई सदस्य कांग्रेस तथा दुई सदस्य एमालेको भागमा परेको थियो । प्रदेश इञ्चार्ज भट्ट कञ्चनपुरका एमाले नेता नेत्रप्रकाश पन्तलाई आयोगको सदस्य बनाउन चाहन्थे । तर, संसदीय दलका नेता रावलले डा. हिरा चन्दलाई सदस्य बनाए । त्यसपछि भट्ट र रावलबीच विवाद झन् बढेको एमाले नेताहरू बताउँछन् ।
नेताहरू मात्रै नभएर संसदीय दलका नेता रावलको गतिविधिमा एमालेका प्रदेशसभा सदस्य पनि खुसी छैनन् । केही प्रदेशसभा सदस्यहरूले ३० चैतमा भएको प्रदेश कमिटी बैठकमा दल नेता रावलको गतिविधि ठीक नभएको बताएका थिए । ‘संसदीय समितिको बैठकमा पनि पार्टीलाई क्षति पुग्ने गतिविधि नगर्न दल नेता रावललाई आग्रह गर्दै आएका थियौँ,’ एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘रावलले झन् विवादित गतिविधि गर्न थालेपछि दलको नेता फेर्ने अन्तिम गृहकार्य भइरहेको हो ।’
दलको नेताबाट रावललाई हटाएर अहिलेका उपनेता सन्तोष शर्मा थापालाई बनाउने तयारी रहेको एमालेभित्र चर्चा छ । उनी एमाले नेता कर्ण थापानिकट मानिन्छिन् । थापाको अध्यक्ष ओलीसँग सम्बन्ध बिग्रेका कारण शर्मालाई दलको नेता बनाउन केन्द्रीय नेतृत्व तयार नहुने पनि चर्चा छ । शर्माको विकल्पमा प्रदेशसभा सदस्य धर्मराज पाठक र चक्र मल्ललाई पनि हेरिएको छ ।
तर, एमाले सुदूरपश्चिममा रहेका तीन उपगुटले दलको नेता फेर्न सहज नभएको पनि कतिपयको तर्क छ । ‘यहाँ एउटा समूहको नेतृत्व लेखराजले गरेका छन्, जहाँ अधिकांश पूर्वमाओवादी छन्,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘अन्य दुई समूह पनि सक्रिय छन् । एउटाको दामोदर भण्डारी र अर्कोको कर्ण थापाले नेतृत्व गरिरहेका छन् । लेखराज र थापा दलको नेतबाट रावललाई हटाउन तयार भए पनि दामोदर नहुन सक्छन् । रावललाई चलाउन सक्ने सुदूरपश्चिमका एक्ला नेता हुन् दामोदर ।’
प्रतिक्रिया दनुहोस्