धनगढी : कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ चैतमा दुर्गा मन्दिर पछाडि हत्या गरेको अवस्थामा मृत भेटिएका डडेल्धुराका अमरगढी नगरपालिका–७ का कैनीको हत्या अभियोगमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्त बहादुर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका बोहरालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर थापाले कैनीको हत्यामा संलग्न रहेको पाइएपछि बोहरालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो ।
बोहराले कैनीको हत्या गरेको स्वीकार गरेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेर आएका व्यक्ति हुन् भने केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा काम गर्ने तथा सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा स्थायी घर भएका मृतक कैनी पनि केही समयदेखि दुर्गा मन्दिरमा बस्दै आएका थिए ।
यो घटनामा अनुसन्धानका लागि प्रहरीले माओवादी पूर्व लडाकुसहितका तीन जनालाई पनि पक्राउ गरेको थियो । सोधपुछका क्रममा शारीरीक रुपमा अपांग समेत रहेका माओवादी पूर्व लडाकुले कैनीको आफूले हत्या गरेको बयान दिएका थिए तर उनको बयानसँग सबुत प्रमाण नमिलिरहेको अवस्थामा बोहरा पक्राउ परेका थिए । हाल इप्रकाको नियन्त्रणमा रहेका उनीहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले प्रक्रिया पुगाएर छाड्ने तयारी गरेको छ ।
पैँसा र झोला चोरीका आशंकामा हत्या
गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिरको दक्षिणतर्फको जमिनमा २७ चैतको बिहान हत्या गरेको अवस्थामा पहिचान नखुलेको शव भेटिएको थियो । अनुसन्धानका क्रममा ३० चैतमा मात्र उनी डडेल्धुराको अमरगढी नगरपालिका–७ को पोखराका ३५ वर्षीय जगदीश कैनी भएको खुलेको थियो ।
घरपरिवारदेखि टाढा रहेका कैनी केही समयदेखि अत्तरिया क्षेत्रमा डुल्ने तथा मागेर खाने गर्थे र दुर्गा मन्दिरमा बस्दै आएका थिए । प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरीले कैनीको टाउकोमा गहुंगो वस्तुले हिर्काएर हत्या गरेको निष्कर्ष निकालेपनि कसले हत्या गरेको हो ? भन्ने कुरा पत्ता लगाउन सकेको थिएन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर थापाको नेतृत्वको टोलीले अनुसन्धान अघि बढायो । इलाका प्रहरीको टोलीलाई सघाउन प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी के–९ शाखाबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको थियो ।
प्रतिक्रिया दनुहोस्