बझाङ : बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छिन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय बिज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । `बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्,´ डीएसपी भण्डारीले भने, `सुसाइट नोट पनि फेल परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण भने उल्लेख गरिएको छैन ।´
डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।
केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् । उनका बुवा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन् । मृतकका बुवा बझाङी भाषाका नाम चलेका गजलकार पनि हुन् ।
प्रतिक्रिया दनुहोस्