धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्ष दलहरुले अवरोध कायमै राखेका छन् । प्रतिपक्ष दलहरूले विरोधका कारण मंगलबारको बैठक स्थगित भएकोमा बुधबार पनि उनीहरुले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको छ । बुधबार दिउँसो ३० मिनेटका लागि स्थगित गरिएको बैठक तीन घण्टासम्म पनि बस्न सकेको छैन ।
प्रदेश सरकारले अनावश्यक खर्च बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यले बैठकमा अवरोध गर्दै आएका छन् । प्रदेश सरकारले नीति तथा योजना आयोगमा ऐन संशोधन गरेर अनावश्यक सदस्य थप गरेको उनीहरुको तर्क छ ।
‘हाम्रो प्रदेशमा गरिबीदर सबैभन्दा बढी छ,’ एकीकृत समाजवादीका प्रदेशसभा सदस्यले मंगलबार भनेका थिए, ‘यस्तो अवस्थामा अनावश्यक खर्च कटौती गर्नुपर्ने हो । तर, नीति आयोगमा तीन जना सदस्य हुने व्यवस्था संशोधन गरेर पाँच जनाको नियुक्ति गरिएको छ । यसले फजुल खर्च बढाएको छ ।’
प्रदेश नीति तथा योजना आयोगमा यसअघि उपाध्यक्षसहित तीन जनाको नियुक्ति हुँदै आएको थियो । यसपटक काँग्रेस र एमालेले भागबन्डा गर्दै उपाध्यक्षसहित पाँच जनाको नियुक्ति गरिएको छ ।
प्रतिक्रिया दनुहोस्