धनगढी : प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफ फाइनलमा प्रवेश गरेको छ । अपराजित रहँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । धनगढीको फाप्ला मैदानमा आज भएको सुपर फोरको खेलमा एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ६९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एपीएफले पहिला ब्याटिङ गर्दै निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर ११५ रन बनाएको थियो । खेल १७ ओभरमा झारिएको थियो । एपीएफका लागि राजमती ऐरीले ३५ बलमा ३ चौकाको मद्दतले ३५ रन नै बनाइन् ।
यसैगरी कविता जोशीले २५ बलमा २ चौका र १ छक्कासहित ३४ रनको नटआउट पारि खेलिन् । यसैगरी कप्तान इन्दू बर्माले १९ बलमा २ चौकाको मद्दतले १८ रनमा नटआउट रहिन् । ममता चौधरी ११ तथा रोमा थापा ७ रनमा पभेलियन फर्किएका थिए ।
आर्मीका लागि सुस्मिता भुसालले २ विकेट लिँदा इश्वरी विष्टले १ विकेट हात पारिन् ।जवाफमा आर्मीको टिम १७ ओभरमा ४६ रनमा समेटियो । आर्मीका लागि राधिाका पुजाराले सर्वाीधक १७ रन बनाउँदा २७ बल खेल्दै ३ चौका हिर्काइन् । यसैगरी इश्वरी विष्टले ११ बलमा १ चौकाको मद्दतले ७ रन जोडिन् । अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो ।
एपीएफकी रेखा रावलले ४ ओभरको स्पेलमा १ ओभर मेडनसहित ११ रन दिएर ४ विकेट लिइन् । सबनम राईले ४ ओभरमा २ ओभर मेडन राख्दै ३ रन खर्चिएर २ विकेट लिँदा इन्दू बर्माले २ ओभरमा ५ रन दिएर १ विकेट हात पारिन् । आर्मीका ३ खेलाडी रनआउट भए ।
प्रतिक्रिया दनुहोस्