सचिन तेन्दुलकर सँग क्रिकेट खेलेका अर्जुन, जसको सम्झनामा बन्यो अर्जुन ट्रफी

धनगढी: भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई विश्वमा नचिन्ने क्रिकेट प्रेमी सायद कमै होलान् । भारतमा क्रिकेटको भगवानका रूपमा चिनिने मास्टर ब्लास्टर सचिन तेन्दुलकर विश्व क्रिकेटमा अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय शतक प्रहार गर्ने पहिलो खेलाडी हुन । उनको यो रेकर्ड हालसम्म कुनै पनि क्रिकेटरले तोड्न सकेका छैनन् । क्रिकेटबाट संन्यास लिइसकेका तेन्दुलकरसँग कुनै समय एउटै टिममा रहेर क्रिकेट खेलेका खेलाडी हुन सुदूरपश्चिमका अर्जुन खड्का ।
नेपालमै जन्म भएर पनि बुवाको जागिरका कारण भारतमा हुर्के बढेका अर्जुन सानै देखि क्रिकेटका सौखिन थिए । त्यति बेला सचिन सँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहके लगायतका खेलाडीहरूसँग अर्जुनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले ।

नेपाली भएकाले उनले क्षमता भएर पनि अवसर पाउन मुस्किल भयो । त्यसैले अरूको देशमा केही हुँदैन भन्ने सोचेर उनी क्रिकेटको मोहका कारण नेपाल हानिए । तर उनले सोचेजस्तो नेपालको क्रिकेट थिएन । न लोकप्रिय थियो न त कोही खेल्थे नै । अर्जुनले भारतमा खेलाडीका रूपमा क्रिकेट खेले पनि नेपाल आएपछि भने प्रशिक्षकका रूपमा क्रिकेटको विकास गर्ने योजना बनाएर त्यही अनुरूप अघि बढे । जति बेला क्रिकेटलाई थोरैले बुझ्थे र औँलामा गनिने जतिले खेल्थे, त्यो समयदेखि नै सुदूरपश्चिमको क्रिकेटलाई सम्हाल्ने काम अर्जुनले गरे ।

khadya

जहिलेदेखि उनले क्रिकेट सिकाउन थाले, घरेलु क्रिकेटले उचाइ छुन थाल्यो । उनकै प्रशिक्षणमा अगाडि बढेका प्रेम चौधरी कुनै बेला सुदूरपश्चिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रने एक्ला खेलाडी थिए । उनैले तिखारेका खेलाडी त्यसवखतका नेपाली यु–१९ टिमका कप्तान राजु रिजाल, सुनील धमला, सन्तोष भट्ट, सुरेन्द्र चन्ददेखि राष्ट्रिय टिमबाट खेलिसकेका भुवन कार्की र प्रदीप ऐरी पनि हुन् । सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रूपमा रहेका अर्जुनले आफ्नो जीवनको करिब ३० वर्ष क्रिकेटमा बिताए । तर रोगका कारण ४५ वर्षको उमेरमै २०७२ साल भदौ १६ गते उनको निधन भयो ।

सम्झनामा अर्जुन ट्रफी

मास्टर ब्लास्टर सँग क्रिकेट खेलेका अर्जुनको नेपाली क्रिकेटलाई उचाइमा पु¥याउने सोचलाई आत्मसाथ गर्दै उनको सम्झनामा अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । क्रिकेटको सहर धनगढीमा गो ड्रिमर्सले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आगामी माघ १९ गतेदेखि २८ गते (फेब्रुअरी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । आयोजकले धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताका खेलहरू खेल्नका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरूलाई बस्नका लागि कृत्रिम प्यारा फिट पनि जडान गरिसकिएको छ’ अध्यक्ष शाहीले भने ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरू अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतीक्षामा रहने छौँ ।’

रनिङ ट्रफीको रूपमा टी–२० फम्र्याटमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ जसअन्तर्गत डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स यूथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापा रहेका छन् ।

प्रतियोगितामा सहभागी टोलीमा ‘ए’ क्याटोगोरीका चार जना, ‘बी’ क्याटोगोरीका पाँच जना र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ । आयोजकका अनुसार ‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम–ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहनेछन् । यस्तै ‘सी’ क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार