कैलाली : राजनीतिमा सामान्य कामको पनि ठूलो प्रचारप्रसार गर्ने होडबाजी चलिरहेका बेला कैलाली क्षेत्र नम्बर ५ का सांसद आनन्द बहादुर चन्द भने अलि भिन्नै शैलीमा देखिन्छन्। मिडियाको तामझाम र सस्तो लोकप्रियताभन्दा टाढा रहेका उनी यतिबेला काठमाडौँका शक्ति केन्द्रहरूमा आफ्ना क्षेत्रका विकास आयोजनाका गाँठो फुकाउन मौन तर सशक्त रूपमा लागिपरेका छन्। प्रचारबाजीमा भन्दा कामको नतिजामा विश्वास राख्ने चन्दले सुदूरपश्चिम र खासगरी कैलाली-५ को मुहार फेर्ने राष्ट्रिय तथा स्थानीय स्तरका योजनाहरूलाई अगाडि बढाउन मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग निरन्तर गहन छलफल गरिरहेका छन्।
गेटामा रहेको धनगढी विमानस्थलको स्तरउन्नतिलाई चन्दले विशेष प्राथमिकतामा राखेका छन्। विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको पटक-पटकको छलफलपछि यतिबेला त्यसको विस्तृत ड्राफ्ट तयार भइरहेको छ। त्यसैगरी, सुदूरपश्चिमलाई खेलकुदको ‘हब’ बनाउने बहुप्रतीक्षित फाप्ला क्रिकेट स्टेडियमलाई ठेक्का प्रक्रियामा लैजान उनले समन्वयकारी भूमिका खेलेका छन्। क्षेत्रको स्वास्थ्य शिक्षामा क्रान्ति ल्याउने अपेक्षा गरिएको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको दायरा बढाउन र प्रक्रिया सहज बनाउन पनि उनको सक्रियता लोभलाग्दो छ।
ठूला र राष्ट्रिय गौरवका आयोजनामा मात्र होइन, नागरिकको प्रत्यक्ष दैनिकीसँग जोडिएका स्थानीय पूर्वाधार निर्माणमा पनि उनको उत्तिकै ध्यान र पहलकदमी रहेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने बेहडा बाबा मन्दिर जाने बाटोमा रहेको शिवगंगा नदीको पुल निर्माण कार्यलाई तीव्रता दिन उनी निरन्तर बजेट र प्राविधिक ताकेतामा लागिपरेका छन्। त्यसैगरी, फूलबारी क्षेत्रका बासिन्दालाई स्वच्छ र सहज खानेपानीको पहुँच पुर्याउनका लागि पनि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्न उनी गहन छलफलमा जुटिरहेका छन्।
“धेरै नबोल्ने, मिडियामा प्रचार नखोज्ने तर पर्दा पछाडि बसेर परिणाम दिने” चन्दको यो कार्यशैलीले यतिबेला कैलाली-५ का बासिन्दामाझ विकासको नयाँ आशा जगाएको छ।




प्रतिक्रिया दिनुहोस्