प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट हटाएकोमा काँग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

बुधबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै शाहले देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयको प्रक्रिया र त्यसको उद्देश्यबारे प्रश्न उठाए। उनले कुनै पनि सांसदलाई पदबाट हटाउनुअघि सम्बन्धित व्यक्तिलाई स्पष्टीकरणको अवसर दिनुपर्ने बताए।

शाहका अनुसार प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिको धारणा बुझेर मात्र यस्तो निर्णय लिनुपर्ने हुन्छ। देउवालाई अचानक पदमुक्त गरिएको भन्दै उनले निर्णयको पछाडिको नियत स्पष्ट गर्न सम्बन्धित पक्षसँग माग गरे।

कांग्रेस कानुनी र संवैधानिक विषयमा खुला बहसका लागि तयार रहेको बताउँदै शाहले देउवाको पदमुक्ति सही वा गलत भन्ने निष्कर्षमा तत्काल नपुगे पनि निर्णयको प्रक्रियामाथि गम्भीर प्रश्न उठेको बताए।

उनले यसअघि प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पनि यस्तै प्रकृतिको विषयमा पदमुक्त गरिएको र उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ जारी भएको उदाहरण प्रस्तुत गरे। सीमित राजनीतिक उद्देश्य पूरा गर्न प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने अवस्था आउन नहुने उनको भनाइ थियो।

शाहले सभामुखले आफ्नो भूमिका निष्पक्ष रूपमा निर्वाह गर्नुपर्नेमा पनि जोड दिए। दलगत अंकगणित वा पार्टीगत स्वार्थलाई आधार बनाएर सभामुखले निर्णय गर्न नहुने भन्दै उनले सभामुख पदमा पुगेपछि सबै दलप्रति समान व्यवहार गर्नुपर्ने बताए।

प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि मंगलबार कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा पदमुक्त भएका थिए।

सचिवालयका अनुसार देउवा पूर्वसूचना नदिई लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा अनुपस्थित भएका कारण संवैधानिक व्यवस्थाअनुसार उनको पद रिक्त गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार