धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको सांसद पद रिक्त हुने भएको छ। लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेका देउवालाई सभामुख भीमबहादुर भण्डारीले पदमुक्त गर्ने निर्णय गरेका हुन्।
कैलाली क्षेत्र नम्बर ५ (२) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित देउवा २०८२ असोजयता प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी भएका छैनन्। प्रदेशसभा सचिवालयका अनुसार उनी लगातार २५ वटा बैठकमा अनुपस्थित छन्।
२०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी नदिई अमेरिका गएको बताइएको छ। त्यसपछि उनी अमेरिकामै रहेको जनाइएको छ।
प्रदेशसभा बैठकमा अनुपस्थित रहे पनि देउवाले सदस्यका रूपमा पाउँदै आएको पारिश्रमिक तथा अन्य सुविधा लिइरहेको बताइएको छ।
प्रदेशसभा नियमावली, २०८० को नियम ९(३) अनुसार सभाको स्वीकृति वा जानकारीबिना लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। देउवा १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएका थिए। त्यसबेला सभामुखले उनको पद कायम राखेका थिए।
तर अनुपस्थितिको संख्या २५ बैठक पुगेपछि सभामुख भण्डारीले पदमुक्त गर्ने निर्णय गरेका हुन्। सभामुखको निर्णयलाई प्रदेशसभा बैठकमा औपचारिक रूपमा जानकारी गराउन भने बाँकी रहेको सचिवालयले जनाएको छ।
देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।




प्रतिक्रिया दिनुहोस्