बेलौरी–बेल्डाँडी सडक खण्डको पचुँइमा कालोपत्र गर्न भारतीय अवरोध

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा सीमा विवादका कारण हुलाकी सडकको करिब १ हजार ४ सय मिटर खण्ड निर्माण हुन सकेको छैन। भारतीय सीमा सुरक्षा बलले उक्त सडक क्षेत्र दशगजामा पर्ने दाबी गर्दै निर्माणमा अवरोध गरेपछि सडक कालोपत्र गर्ने काम रोकिएको हो।

पचुँइमा पाँच दशकभन्दा लामो समयदेखि बस्दै आएका बुद्धिराज चौधरीका अनुसार स्थानीयले सुतिया खोलालाई लामो समयदेखि नेपाल–भारत सीमाका रूपमा मान्दै आएका छन्। उनका अनुसार सुतिया खोलाभन्दा नेपालतर्फ नेपाली किसानले वर्षौंदेखि खेती गर्दै आएका छन्। सोही क्षेत्रमा हुलाकी सडकसमेत पर्दछ।

डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक आर्थिक वर्ष २०७३/७४ मा तीन प्याकेजमा कालोपत्र गर्ने गरी ठेक्का लगाइएको थियो। पहिलो र तेस्रो प्याकेजको काम सम्पन्न भए पनि बेलौरी–बेल्डाँडीअन्तर्गत पर्ने दोस्रो प्याकेज अझै पूर्ण हुन सकेको छैन।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण दोस्रो प्याकेज पुनः ठेक्कामा लैजाने तयारी भइरहेको छ। पचुँइको विवादित १.४ किलोमिटर खण्डमा भने भारतीय पक्षले सीमा विवाद देखाउँदै ग्राइभेल हाल्नसमेत रोक लगाउँदै आएको उनले बताए।

लामिछानेका अनुसार विवाद समाधानका लागि स्थानीय तहदेखि प्रशासनिक तहसम्म पहल भए पनि अहिलेसम्म निष्कर्ष निस्किएको छैन। विवादित क्षेत्र छाडेर बाँकी सडक निर्माण अघि बढाउने योजना रहेको उनले जानकारी दिए।

स्थानीय मानबहादुर चौधरीले भने नेपाली भूमिमा पर्ने सडक निर्माणमा भारतीय पक्षले अनावश्यक अवरोध गर्दै आएको बताए। उनका अनुसार सडक कालोपत्रको काम सुरु भएपछि सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ र सडकका खाल्डाखुल्डी पुर्नसमेत रोक लगाइएको छ।

स्थानीयवासीले सडक निर्माणका लागि उच्च तहबाट कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। नौ वर्षअघि ठेक्का लागेको हुलाकी सडकको दोस्रो प्याकेज निर्माण व्यवसायीको कमजोरी र सीमा विवाद दुवै कारणले लामो समयदेखि अधुरो रहँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार