धनगढी : कञ्चनपुरको महाकाली नदीमा शारदा ब्यारेजको पुलबाट हाम फालेर बेपत्ता भएका दार्चुलाका सुनिल खत्रीको अवस्था अझै अज्ञात रहेको छ। भारतमा ज्यालादारी गर्दै आएका लेकम गाउँपालिका-६ का सुनील खत्री नदीमा बेपत्ता भएपछि अहिले उनको खोजी कार्य तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निरन्तरको खोजीपछि पनि अहिलेसम्म उनको पत्ता लाग्न सकेको छैन।
घटनाको विवरण: भिडियो कल र प्रत्यक्षदर्शीको प्रयास
प्राप्त विवरण अनुसार, भारतबाट महेन्द्रनगरस्थित आफ्नी दिदी दीपा धामीको डेरामा पुगेका खत्री शुक्रबार गड्डाचौकीतर्फ फर्किने क्रममा शारदा ब्यारेज पुगेका थिए। ब्यारेजमा पुगेपछि उनले दिदी दीपालाई भिडियो कल गरेर “दिदी म गए, त्यसलाई नछाड्नुहोला” भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरेका थिए।
त्यहाँ उपस्थित भारतीय नागरिकहरूले उनलाई हाम फाल्नबाट रोक्ने प्रयास गरे पनि उनी कसैको कुरा नसुनी महाकालीमा होमिएका थिए। दिदी दीपाले घटनाबारे थाहा पाउनेबित्तिकै नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गरे पनि प्रहरी टोली पुग्नुअघि नै उनले नदीमा छलाङ मारिसकेका थिए।
वैवाहिक जीवनको खटपट र मानसिक तनाव
परिवारका अनुसार सुनीलले महाकालीमा हाम फाल्नुअघि कुरा गरेको र भिडियो कलमा संकेत गरेको व्यक्ति उनकी आफ्नै श्रीमती विमला भाट हुन्। विमला नेपाल प्रहरीकी जवान हुन् भने हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत छिन्।
परिवारका अनुसार करिब आठ महिनाअघि मात्रै गत वर्षको मंसिर महिनामा उनीहरूको हिन्दू परम्पराअनुसार विवाह भएको थियो। जापानमा रहेकी बहिनीमार्फत विमला आफैले प्रस्ताव राखेर विवाह भए पनि केही समययता उनीहरूको दाम्पत्य जीवनमा खटपट सुरु भएको थियो। बैतडीमा कार्यरत प्रहरी जवान विमलाको अन्य पुरुषसँगको सम्बन्धका कारण सुनीललाई टाढा पार्न खोजेको र सामाजिक सञ्जालबाट विवाहका फोटोहरू समेत हटाएको पारिवारिक स्रोतको दाबी छ।
सार्वजनिक अडियो र श्रीमतीको प्रतिक्रिया
घटना हुनुभन्दा ठीक अघि सुनिल र उनकी पत्नी विमलाबीच भएको कुराकानीको एक अडियो क्लिपसमेत बाहिर आएको छ। उक्त अडियोमा विमलाले श्रीमानलाई भारतबाट अचानक किन फर्किएको भन्दै आक्रोश पोखेको र छिटो भारततिरै फर्किन दबाब दिएको सुनिन्छ। सोही वादविवाद र मानसिक तनावका कारण सुनीलले यो चरम कदम उठाएको भन्दै उनका आफन्तहरूले श्रीमती विमलालाई कानुनी कारबाहीको माग गरेका छन्।
यता, श्रीमान् बेपत्ता भएको खबर पाएपछि प्रहरी जवान विमलाले पछुतो मानिरहेकी छन्। उनले श्रीमानसँग सामान्य वादविवाद हुने गरे पनि सुनीलले यति ठूलो र गम्भीर निर्णय लिन्छन् भन्ने आफूले कल्पनासमेत नगरेको र आफुबाट गल्ती भएको भन्दै परिवारसँग कुराकानी गरिरहेकी छन्। बिरामी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयबाट केही दिनअघि मात्र बिदा लिएकी विमला हाल सोही घटनाका कारण चर्चा र विवादमा आएकी छिन्।
प्रहरीले घटनाको विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको र नदीमा बेपत्ता भएका खत्रीको खोजी कार्य जारी रहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्