कैलालीमा पाँच अस्पतालले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरेको खुलासा

धनगढी । कैलालीमा सञ्चालनमा रहेका पाँच निजी अस्पतालले स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कानुनी मापदण्ड पालना नगरेको स्वास्थ्य कार्यालयको अनुगमनबाट खुलेको छ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार अत्तरियाको दोगडा सामुदायिक अस्पतालले इजाजतपत्र नवीकरण नगरी सेवा दिइरहेको भेटिएको छ। १५ शय्याको उक्त अस्पतालको इजाजतपत्रको म्याद सकिएपछि गोदावरी नगरपालिकालाई सेवा रोक्न निर्देशन दिइएको छ।

त्यस्तै, अत्तरियाकै पद्यमा अस्पतालले आवश्यक स्वीकृतिबिनै प्रयोगशाला सञ्चालन गरेको पाइएको छ। अनुगमनपछि अस्पतालमाथि कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई सिफारिस गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अत्तरिया हस्पिटलले पनि स्वीकृत मापदण्ड पूरा नगरी क्याथ ल्याब सञ्चालन गरेको पाइएको छ। १०० शय्याको भए पनि उक्त अस्पतालले हाल जनरल अस्पतालका रूपमा सेवा सञ्चालनको अनुमति लिएको छ। जनरल अस्पतालको स्वीकृतिबाट क्याथ ल्याब सञ्चालन गर्न नमिल्ने स्वास्थ्य कार्यालयको भनाइ छ।

स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टका अनुसार क्याथ ल्याब सञ्चालनका लागि १०० शय्याको विशेषज्ञ अस्पताल आवश्यक पर्ने कानुनी व्यवस्था छ। अनुगमनका क्रममा मापदण्डविपरीत सेवा सञ्चालन गरेको भेटिएपछि थप कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरिएको छ।

यसैगरी, धनगढीस्थित १५ शय्याको नोभा अस्पतालले स्वीकृत क्षमताभन्दा बाहिर गएर आइसियू सेवा सञ्चालन गरेको पाइएको छ। स्वास्थ्य कार्यालयको निर्देशनपछि अस्पतालले हाल उक्त सेवा बन्द गरेको जनाएको छ।

धनगढी चौराहास्थित केजी हस्पिटलसँग भने स्वास्थ्य कार्यालयले स्पष्टीकरण मागेको छ। सेवा सञ्चालन, जनशक्ति तथा कार्य सम्झौतासम्बन्धी कागजात उपलब्ध गराउन निर्देशन दिइएको हो। साउन २२ गते मिर्गौलाको शल्यक्रिया गराएकी ५० वर्षीया महिलाको मृत्यु भएपछि उक्त घटनाबारे थप अनुसन्धानका लागि अस्पतालसँग स्पष्टीकरण मागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार कैलालीका निजी स्वास्थ्य संस्थाले आवश्यक अनुमति नलिई तथा तोकिएको मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको गुनासो बढेपछि अनुगमनलाई तीव्र बनाइएको हो

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार