सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भोलि राजीनामा दिने तयारी गर्दै, विश्वासको मत पाउने सम्भावना टल्यो !

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ। गत साउन महिनामा नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाहले संवैधानिक समयसीमाको अन्तिम दिन भोलि राजीनामा दिने तयारी गर्नुभएको उहाँ निकट स्रोतले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सोहीअनुसार भोलि अन्तिम दिन परे पनि थप दलहरूको समर्थन जुटाउने सम्भावना नदेखिएपछि उहाँले राजीनामा दिने बाटो रोज्नुभएको हो। सरकार जोगाउन आवश्यक पर्ने बहुमत सांसदको संख्या नपुग्ने भएपछि विश्वासको मत लिने कार्यक्रम रद्द गरिएको कांग्रेसको दाबी छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

मुख्यमन्त्रीको राजीनामा र आगामी राजनीतिक कदमबारे छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। प्रमुख सचेतक सरस्वती खड्काले एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको स्पष्ट पार्दै सोही विषयमा परामर्श गर्न बैठक बस्न लागेको जानकारी दिनुभएको छ। सुरुमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भनिए पनि समय कम भएका कारण सिधै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने विषयमा पनि आन्तरिक छलफल भइरहेको छ।

नयाँ सरकार गठनको बाटो खुल्ने

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन वा जोगाउन कम्तीमा २७ सांसदको बहुमत आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहसँग आफ्नै दल नेपाली कांग्रेसका १८ सांसद मात्रै छन् (जसमध्ये एक जना सांसद प्रकाश देउवा अमेरिकामा हुनुहुन्छ)। बहुमतका लागि थप १० मत आवश्यक पर्ने भए पनि कतैबाट पनि समर्थनको सुनिश्चितता नभएपछि उहाँ पदबाट बाहिरिन लाग्नुभएको हो।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। केन्द्रको सत्ता समीकरण अनुसार अब सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्ने सहमति भइसकेको छ। सोही सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी थालिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार