काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक असन्तुष्टि र नेतृत्वबारे बहस चर्किरहेका बेला पार्टीका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते बिहीवार नेपाल फर्किने भएका छन् ।
हङकङबाट गत शुक्रवार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा यसअघि साउन २६ गते नै स्वदेश फर्किने तयारीमा थिए । तर कार्यक्रमको समय व्यवस्थापनका कारण उनको नेपाल फर्किने तालिका दुई दिन पछि सारिएको देउवानिकट स्रोतले जनाएको छ ।
देउवा भने एक्लै नेपाल फर्किनेछन् । उनीसँग विदेश भ्रमणमा रहेकी पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा र छोरा जयवीर देउवा भने तत्काल नेपाल नफर्किने स्रोतको भनाइ छ ।
देउवाको स्वदेश फिर्तीलाई कांग्रेसको असन्तुष्ट समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलासँग जोडेर हेरिएको छ । पार्टीभित्र संगठन, नेतृत्व र भावी राजनीतिक दिशाबारे बहस तीव्र भइरहेका बेला देउवाको उपस्थितिले आन्तरिक समीकरणमा नयाँ सन्देश दिन सक्ने राजनीतिक वृत्तको विश्लेषण छ ।
कांग्रेसभित्र बढ्दो गुटगत सक्रियता र असन्तुष्ट पक्षको शक्ति प्रदर्शनको तयारीबीच देउवाको नेपाल आगमनले पार्टीको आगामी रणनीति र नेतृत्वको भूमिकालाई थप चासोको विषय बनाएको छ ।




प्रतिक्रिया दिनुहोस्