कैलालीमा ग्यास सङ्कटको हल्ला: ‘मनकामना’ र ‘भेरी’मा अलि सास्ती, ‘सैपाल’ र ‘रेडीयन्ट’ सहज

कैलाली – देशभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको चर्चा चलेका बेला कैलाली जिल्लामा भने समग्रमा ग्यासको चरम सङ्कट नरहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको बजार अनुगमनका क्रममा केही निश्चित ब्रान्डका ग्यासमा समस्या देखिए पनि स्थानीय स्तरमा उपलब्ध ब्रान्डको आपूर्ति सहज रहेको निष्कर्ष निकालिएको हो।

अनुगमनबारे जानकारी दिँदै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) खडानन्द खत्रीले बजारमा रेडीयन्ट र सैपाल ब्रान्डका ग्यासको अभाव नरहेको बताए। अनुगमनका क्रममा डिलरहरूले उपभोक्तालाई सहज रूपमा ग्यास वितरण गरिरहेको पाइएको उहाँको भनाइ छ।
​तर, लुम्बिनी प्रदेशको बाँकेबाट आपूर्ति हुने ‘मनकामना’ र ‘भेरी’ ब्रान्डका ग्यास नियमित रूपमा भित्रिन नसक्दा ती ब्रान्डका उपभोक्ताले भने केही सास्ती भोग्नुपरेको सहायक सिडिओ खत्रीले जानकारी दिए। विशेष गरी पूर्व कैलाली तथा बाँके-बर्दिया नजिक पर्ने क्षेत्रमा मनकामना र भेरी ग्यासका उपभोक्तालाई २-३ दिन कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
​अनुगमनका क्रममा बजारमा काला बजारी, ग्यास लुकाउने (होर्डिङ) वा तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने जस्ता अनियमितता भने नभेटिएको प्रशासनले जनाएको छ। डिलरहरूले बिक्री विवरण र ग्राहकको स्रेस्ता दुरुस्त राखेर पारदर्शी रूपमा ग्यास वितरण गरिरहेको अनुगमन टोलीले पाएको छ।
​धनगढी लगायतका मुख्य बजार क्षेत्रमा बिहान ग्यास नपाए पनि बेलुकासम्म सहजै उपलब्ध भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्ट पारेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार