काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्ने अभिव्यक्ति दिनु छोटे राजा शैली भएको टिप्पणी गरेका छन् ।
आईतबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो छोटे राजा शैलीलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।
भदौ २३ र २४ गतेको घटना त्यतिकै नभएको पनि उनले बताए । ‘हाम्रो गति र मतिमाथि पटक–पटक हामीले नै प्रश्न उठाएकै थियो । यसपछि २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन आयो, हाम्रो गतिलाई मन नपराएर रिसाएका मतदाताले ब्यालेटमार्फत प्रतिपक्षमा पुर्याइदिए । हाम्रै वरिष्ठ नेता अर्जुननरसिंह केसीले जुनसुकै बेला नेपालमा बंगलादेशको स्थिति आउन सक्छ भनेर औपचारिक बैठकमै भनेका थिए । अझै पनि हाम्रा गति र मति ठीक भइसकेको छैन । यसमाथि प्रतिरोध हुन सक्छ ।’
रास्वपाले फागुन २१ गते ब्यालेटमार्फत ल्याएको परिवर्तनलाई सम्मान गर्ने तर जनतामा अझै पनि परिवर्तनको आभास दिलाउन नसकेकोमा उनले आक्रोश पोखे । उनले भने, ‘सरकार गठनको १०० दिनलाई हामीले हनिमून पिरेडका रूपमा हेरेका थियौं । कांग्रेसले आवश्यक सहयोग गरेकै थियो । हामीले सरकारको गति ठीक भएन भन्दा प्रधानमन्त्रीले हामी एक्सप्रेस गाडी हौं । गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छौं भनेर भन्नुभयो । एक्सप्रेस गाडीमा ब्रेक राख्ने नराख्ने उहाँको कुरा तर एक्सप्रेस वेमा लेन मिच्न पाइँदैन । हामी दिँदैनौं ।’
सम्पत्ति छानबिनको विषयमा उनले सरकारमाथि नै प्रश्न गरे । ‘२०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्छु भन्ने सरकारले आफ्नै मन्त्रीको सम्पत्ति छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन ?’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्