काठमाण्डु– काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा गएको सोमबार राति सुटुक्क चीन उडे ।
काठमाण्डुबाट ग्वान्झाओ प्रस्थान गरेका शर्मा किन चीन गए भन्नेबारे शर्मा स्वयं र काँग्रेसले औपचारिक रुपमा केही खुलाएको छैन । शर्माले ५ दिन चीनमा बिताउने भनिएको छ ।
चीन उडेको ५ दिन बित्दासमेत शर्मा कुनै कार्यक्रममा सहभागी भएको समाचार वा सूचना आएको छैन । आखिर शर्मा के का लागि गए त चीन ? काँग्रेस वृत्तमा यो विषयले व्यापक चर्चा पाएको छ ।
उनी एक्लै चीन जानुले पनि भ्रमणको कुनै खास उद्धेश्य हुन सक्ने आशंकालाई बल पु-याएको छ ।
पूर्वसभापति शेरबहादुर देउवाले नेपाल फर्कने घोषणा गर्नु, अदालतमा काँग्रेस आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि पूर्वसंस्थापन समूहले निवेदन दर्ता गराउनु, सो समूहले राष्ट्रिय भेला आयोजना गर्नु र डा. शशांक कोइराला कोइराला परिवारको सर्वसम्मत उत्तराधिकारी बन्नुजस्ता घटनाक्रम एकैसाथ सतहमा आएका बेला उपसभापति शर्मा चीन जानुलाई आश्चर्यका रुपमा हेरिएको छ । एक केन्द्रीय सदस्यका अनुसार शर्माले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्ने सम्भावना छ ।
‘उहाँहरु (देउवा–शर्मा) बीच हङकङमा भेटघाट हुने सम्भावना प्रबल छ’, ती केन्द्रीय सदस्यले भने, ‘सम्भवतः पार्टीलाई सम्भावित फुटबाट बचाउने विषयमा दुई नेताको कुरा हुन सक्छ ।’
ग्वान्झाओबाट करिब १ सय ४० किलोमिटरको दूरीमा पर्ने हङकङ एक घण्टाको हवाई यात्रामा पुगिने भएकाले देउवासँग भेट्नकै लागि शर्मा चीन गएको दाबी उनको छ ।
जेनजी आन्दोलनकारीको कुटाइबाट घाइते भएका देउवा गत १३ चैतमा फलोअप उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा स्वास्थ्य जाँच गराएर उनी उतैबाट हङकङ गए ।
हाल हङकङमै रहेका देउवा आगामी २६ साउनमा स्वदेश पर्कने तयारीमा छन् ।




प्रतिक्रिया दिनुहोस्